मास्क नलगाउने चिलीका राष्ट्रपति दण्डित



सान्टियागो, (एजेन्सी) ।

कोरोना भाइरस नियन्त्रण तथा  रोकथामका लागि बनाइएको नियम उल्लंघन गरेको अभियोगमा चिलीका राष्ट्रपति सेवासियन पिनेरालाई आइतबार तीन हजार पाँच सय अमेरिकी डलर जरिवाना तिराइएको छ । उनलाई मास्क नलगाइकन सेल्फी तस्वीर खिचेको अवस्थामा भेटाइएको थियो ।

यसै महिनाको शुरूमा एक महिलासँग लिइएको सो सेल्फी तस्वीर भाइरल भएपछि राष्ट्रपति पिनेराले औपचारिकरूपमा माफी मागेका थिए । तस्वीरमा परिचय नखुलाइएकी ती महिलाले पनि मास्क लगाएकी थिइनन् । उनले काचागुवा शहरस्थित आफ्नो घरनजिकको समुद्री तटमा ती महिलाले सँगै बसेर तस्वीर खिच्न अनुरोध गरेका बेला आफूले मास्क लगाउन भुल्न नहुने तथ्य स्वीकार गरेका छन् ।

मास्कसम्बन्धी कानुन उल्लंघन गर्ने जो कोहीलाई आर्थिक जरिवानालगायत कारावास सजायको समेत व्यवस्था गरिएको छ । चिलीमा कोरोना भाइरस संक्रमणका घटनामा तीव्ररूपमा वृद्धि भइरहेको छ । ल्याटिन अमेरिकी मुलुक चिलीमा अन्य छिमेकी मुलुकका तुलनमा कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या तुलनात्मक रूपमा सबैभन्दा बढी रहेको छ ।

अहिलेसम्म चिलीमा ५ लाख ८१ हजार १ सय ३५ जना संक्रमित भेटिएको तथा मर्नेको संख्या १६ हजार ५१ पुगेको अमेरिकास्थित जोन्स होप्किन्स युनिभर्सिटीको तथ्यांकमा जनाइएको छ । विगतमा पनि अन्य विभिन्न खालका तस्वीरका कारण पिनेरा राजनीतिक समस्यामा पर्ने गरेका थिए ।

गत वर्ष राजधानी सान्टियागोमा असमानताको विरुद्ध रात्रिकालीन विरोध प्रदर्शन भइरहेका वेला सार्वजनिक भएको उनको एउटा पिज्जा पार्टीमा खिचिएको तस्वीरप्रति पनि जनताले ठूलो आक्रोश व्यक्त गरेका थिए ।

त्यसैगरी, यसै वर्षको अप्रिलमा कोरोना भाइरसविरुद्धको लकडाउन लागू गरिनुअघि सरकारविरुद्ध विरोध प्रर्दशन हुने प्रमुखस्थलको रूपमा चिनिने प्लाजामा बसेर खिचिएको एउटा तस्वीरका कारण पनि पिनेरा निकै विवादमा परेका थिए  ।

प्रतिक्रिया दिनुहोस्