प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : कांग्रेस



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गर्न सरकारले चालेको कदम संविधानको अक्षर, मर्म र भावना विपरीत रहेको छ । प्रधानमन्त्री ओलीले आज बिहान ताजा जनादेशका लागि भनी प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सोको राजनीतिक रूपमा प्रतिवाद गर्ने जनाउनुभएको छ । चुनावको बेला स्थिरताको चर्को नारा दिएको तर आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणामस्वरुप मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्तिको विरोध गर्दै पार्टीले सो प्रयत्नलाई असफल तुल्याउने जनाएको छ ।

कांग्रेसले उक्त सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई अपिल गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका नेताकार्यकर्ता, सबै राजनीतिक दल, सङ्घसंस्था र समस्त लोकतन्त्रवादीमा अपिल गरेको छ । पार्टीले लिने आवश्यक कदम र थप धारणाबारे आजै अपराह्न १ बजे काठमाडौँ उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्