समाचार सम्पादक गिरीलाई नातिकाजी पुरस्कार



नातिकाजी स्मृति समाजद्वारा यस वर्ष थप गरिएको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६ नेपाल समाचारपत्रका सम्पादक विदुर गिरीलाई पुरस्कृत गरिने भएको छ। संगीतसाधक नातिकाजी श्रेष्ठको ९६औं जन्मजयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहमा सो पुरस्कार गिरीका साथमा अर्का पत्रकार श्याम स्मृतलाई प्रदान गरिने घोषणा गरिएको छ।

लोकप्रिय गायक योगेश वैद्यको संयोजकत्वमा गठित तीन सदस्यीय सम्मान एवं पुरस्कार छनोट समितिको सिफारिसअनुसार सम्मान एवं पुरस्कार घोषणा गरिएको समाजले जनाएको छ। समाजका अध्यक्ष शम्भुजित बास्कोटाका अनुसार, नेपाली संगीतको विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुका साथमा यस वर्षबाट हरेक साल २ जना पत्रकारलाई नगद राशीका साथ पुरस्कार प्रदान गरिनेछ। बासकोटाका अनुसार, २०७६ सालको नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान संगीतकार नोर्बु छिरिङ लामालाई प्रदान गरिनेछ।

त्यसै गरी, संगीतकर्मीहरु राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, चूडामणि देवकोटा, बालकृष्ण सजीव, सुरेन्द्र राना, राजु अग्रवाल, सुनील मास्के, शान्तिराम राई र महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७६ प्रदान गरिने भएको छ। संगीतकर्मीहरु सुगम पोखरेल, प्राश्ना शाक्य, चेतन सापकोटा र दयाराम पाण्डेलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७६ बाट पुरस्कृत गरिने भएको छ।

त्यस्तै, वसन्त सापकोटा, सुरज थापा, मेलिना राई र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६ एवं जीवित जल्मीलाई नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार–२०७६ प्रदान गरिने भएको छ। यसै गरी, विकासनाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७६ र बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार–२०७६ प्रदान गरिने जनाइएको छ।

कार्यक्रममा समाजका अध्यक्ष शम्भुजित बास्कोटाले नेपाली संगीतको इतिहास खोज्ने हो भने नातिकाजीको अध्ययनबाट मात्र पूरा हुने चर्चा गरे भने संगीतकार शान्तिराम राईले नेपाली मौलिक संगीतको राजमार्ग निर्माणमा नातिकाजीको प्रमुख भूमिका रहेको चर्चा गरे।

गायक सुगम पोखरेलले नेपाली संगीतको सागरका रूपमा नातिकाजीको योगदान रहेको चर्चा गरे भने गायक बद्री पंगेनीले लोकसंगीतको धरातलमा नातिकाजीले आफ्ना हरेक संगीत सिर्जना गरेको स्मरण गरे। समाजका सचिव दीपक श्रेष्ठले स्वागत गरेको कार्यक्रममा गीतकार भूपेन्द्र खड्काले नेपाली मौलिक संगीतको विकास र विस्तारमा नातिकाजीको योगदानको चर्चा गर्दै नेपाली संगीतको आकाशका रूपमा योगदान रहेको स्मरण गरे।

प्रतिक्रिया दिनुहोस्