क्रिस्टलविरुद्ध लिभरपुलको फराकिलो जित



लन्डन, (एजेन्सी) ।

गत सिजनको प्रिमियर लिग विजेता टिम लिभरपुलले शनिबार भएको लिग खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो गोलअन्तरले हराएको छ ।
लिभरपुलले क्रिस्टल प्यालेसकै मैदानमा घरेलु टिमलाई ७–० गोलअन्तरले निराश पारेको हो । यो जितमा मोहम्मद सलाह र रोबेर्टो फिर्मिनोले दुई–दुई गोल गरेका हुन् । पहिलो हाफमा टाकुमी मिनामिनो, साडियो माने र फिर्मिनोले एक–एक गोल गरे । त्यस्तै, दोस्रो हाफमा सलाहले दुई तथा जोर्डान हेन्डरसन र फिर्मिनोले एक–एक गोल थपेर लिभरपुललाई सानदार जित दिलाएका हुन् ।

योसँगै लिभरपुलले अंकतालिकामा अग्रता पनि फराकिलो बनाएको छ । टोटनह्यामसँगको दूरी पनि बढाएको छ । लिभरपुलको १४ खेलमा ३१ अंक भएको छ भने आज १४औं खेल खेल्ने टोटनहामको २५ अंक छ । यर्जेन क्लोपको टिमले लगातार दोस्रोपटक प्रिमियर लिग जित्ने पनि छनक देखाइरहेको छ ।

खेलको तेस्रो मिनेटमै लिभरपुलले अग्रता लिएको थियो । टाकुमी मिनामिनोले साडियो मानेको सहयोगमा गोल गरेर लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । यो जापानी खेलाडीको १८औं सहभागितामा पहिलो प्रिमियर लिग गोलसमेत थियो । पहिलो गोलमा सहायता गरेका मानेले ३५औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । योसँगै उनी क्रिस्टलविरुद्ध लगातार सात खेलमा गोल गर्न सफल भए ।

पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकि हुँदा रोबेर्टो फिर्मिनोले गोल गरे । उनले ७० यार्डबाट वान टू खेलेर गोल गरेका थिए । पहिलो हाफमा लिभरपुलले ३–० को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लिभरपुलले गोललाई निरन्तरता दियो । जोर्डान हेन्डरसनले ५२औं मिनेटमा करिब २२ यार्डबाट घुमाउरो प्रहार गर्दै गोल गरेका थिए । योसँगै लिभरपुललाई चार गोलको अग्रता भएको थियो ।

फिर्मिनोले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने यो टिमको लागि पाँचौं गोल थियो । उनले काउन्टर एट्याकमा मोहम्मद सलाहको पासमा गोल गरेका थिए । यो उनको सातामा व्यक्तिगत तेस्रो गोल थियो । यसपछि सलाहले पनि गोल गर्न सफल भए । उनले ८१औं मिनेटमा अनमार्कमा रहेका फाइदा उठाउँदै क्लोज रेन्जमा गोल गरेका थिए । यसको तीन मिनेटपछि उनले अर्को गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्