आप्रवासी कामदारको सम्मानमा दीप प्रज्ज्वलन



नेपाल समाचारपत्र, खोटाङ । 

विभिन्न देशमा पुगेर रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्र मजुबुद बनाउन योगदान पुर्‍याएको भन्दै खोटाङमा आप्रवासी कामदारको सम्मानमा दीप प्रज्ज्वलन गरिएको छ । रोजगारीका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेर देशको अर्थतन्त्रमा टेवा पुर्‍याएको भन्दै जिल्लाका ४ स्थानीय तहमा एकैसाथ दीप प्रज्वलन गरिएको हो ।

‘अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस डिसेम्बर–१८’ को अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा शुक्रबार साँझ एकैसाथ दीप प्रज्वलन गरिएको थियो । आप्रवासी कामदारको सम्झनामा सामूहिक दीप प्रज्ज्वलन गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताउनुभयो ।

सम्बन्धित स्थानीय सरकारको नेतृत्वमा बालसेवा समाजले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा आप्रवासी कामदारलाई सम्झना गरिएको थियो । आप्रवासी कामदारका परिवारसँग ‘विप्रेषणको सदुपयोग र व्यवस्थापनमा परिवारको भूमिका तथा स्थानीय सरकारको दायित्व’ का विषयमा छलफल गरेपछि साँझमा सामूहिक दीप बालिएको हो ।

प्रतिक्रिया दिनुहोस्