हलेसी मन्दिरमा दर्शनार्थीको घुइँचो



खोटाङ, (नेस) ।

विश्वको एक मात्र त्रिधार्मिकस्थल हलेसी मन्दिर खुलाइएपछि तीर्थालु भक्तजनहरुको चाप बढ्न थालेको छ । कोरोना महामारीका कारण ९ महिनाअघि बन्द गरिएको मन्दिर गत १६ गतेवाट खुलाइएपछि दर्शनार्थीको चाप बढ्न थालेको हो ।

किरात, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाउनुपर्दा करिब डेढ करोड रुपियाँ बराबरको भेटीघाटीमा घाटा भएको जनाइएको छ । अघिल्लो वर्ष मात्र देश–विदेशबाट आउने तीर्थालु भक्तजनबाट करिब १ करोड बराबरको भेटीघाटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिकाको मेयर ईवन राईले बताउनुभयो । मेयर राईका अनुसार मन्दिर खुला गरिएपछि हाल भने दर्शनार्थीको चाप क्रमशः बढ्न थालेको छ । हाल, हलेसी क्षेत्रका होटल तथा व्यापार व्यवसाय पनि विस्तारै सञ्चालन हुन थालेको उहाँले सुनाउनुभयो ।

हलेसीमा वर्षेनी १५ दिनसम्म लाग्ने विभिन्न मेलाहरुमध्ये महŒवपूर्ण रामनवमी, तीज, उधौली, उभौलीजस्ता मेलाहरु लगाउन नपाए पनि गत २८ गते परेको बालाचर्तुदशी मेला भने ऐतिहासिकरुपमै लागेको हलेसी महादेव विकास समितिले जनाएको छ । कोरोना कहरका कारण मेलाको बारेमा खास प्रचार प्रसार नगरे पनि करिब २० हजार तीर्थालु भक्तजनको उपस्थिति रहेको समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्