चिनियाँ प्रोफेसरलाई प्रज्ञालङ्कार



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले चिनियाँ प्रोफेसर वाङ हङवेईलाई ‘नेपाल प्रज्ञालङ्कार’ प्रदान गर्ने निर्णय गरेको छ । हालै सम्पन्न प्रतिष्ठानको ३५औं प्राज्ञ सभाले तीन हजार अमेरिकी डलर वा सो बराबरको नगद राशिको विशिष्ट पुरस्कार ‘नेपाल प्रज्ञालङ्कार’ प्रदान गर्ने निर्णय गरेको हो । प्रोफेर वाङलाई भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पुर्‍याएबापत सो सम्मान दिने भएको हो । उक्त प्रज्ञालङ्कार विदेशी नागरिकलाई दिने विशिष्ट प्रज्ञा सम्मान हो ।

यसै गरी सभाले प्राडा वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्राडा तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसै गरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सभाले दुई/दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने ३ हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।

प्रज्ञा पुरस्कारका लागि योग्य प्रतिभा छनोट गरी सिफारिस गर्न कुलपति गङ्गाप्रसाद उप्रेतीले उपकुलपति डा. जगमान गुरुङको संयोजकत्वमा सदस्य–सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त, प्राडा योगेन्द्रप्रसाद यादव र प्राडा उषा ठाकुर रहेको समिति गठन गर्नुभएको थियो ।

यसैबीच बैठकले प्राडा सूर्यप्रसाद सुवेदी र इतिहासकार डा. महेशराज पन्तलाई मानार्थ सदस्यता दिने निर्णय गरेको छ । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत डा. सुवेदी काठमाडौंको ल क्याम्पस हुँदै बेलायतको हल र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका व्यक्ति हुनुहुन्छ ।

हालसम्म प्रज्ञा–प्रतिष्ठानबाट धनशमसेर जबरा, धरणीधर कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, शम्भुप्रसाद मिश्र, सिद्धिमुनि शाक्य र तेजरत्न कंसाकार मानार्थ प्राज्ञमा मनोनित हुनुभएको छ भने २०५१ सालपछि कालीदास श्रेष्ठ, जनकलाल शर्मा, दुर्गालाल श्रेष्ठ, नातिकाजी श्रेष्ठ, बदरीनाथ भट्टराई, सुन्दर झा शास्त्री र केशव दुवाडीले मानार्थ सदस्यको सम्मान पाउनुभएको थियो, जसमध्ये तेजरत्न कंसाकार, कालीदास श्रेष्ठ र दुर्गालाल श्रेष्ठ मात्र हाल जीवित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्