डडेल्धुरामा आईसीयु सेवा शुरु भए पनि सुदूरपश्चिममा अभाव कायमै



राम धामी, डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा शुक्रबारदेखि सघन उपचार कक्ष (आईसीयु) सेवा सञ्चालनमा आएको छ । १५ वेडको आईसीयु कक्ष सञ्चालन गर्ने भनिए पनि विविध कारणले पाँच वेडको आईसीयु सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

थप छ वेडको आईसीयु सेवा केही दिनमै सञ्चालन गरिने र बाँकी चार वेडलाई भने केही समयपछि सञ्चालन गर्ने योजना रहेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । सुदूरपश्चिम प्रदेशका अस्पतालमा आईसीयू र भेन्टीलेटर सेवाको अभाव जारी रहेकाले जाडोसँगै कोभिड–१९ का बिरामी बढेमा उपचारमा कठिनाइ हुने अवस्था आउने देखिएको छ ।

स्रोत साधान अभावका कारण डडेल्धुरा र सेती प्रादेशिक लगायतका अन्य अस्पतालहरुमा अझै आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनमा कठिनाइ भइरहेको पाइएको छ । अस्पतालमा आउने बिरामीको चापको अनुपातमा डडेल्धुरा, सेती, महाकाली र टीकापुर अस्पतालमा उपकरण र दक्ष जनशक्तिको पनि अभाव छ । जिल्ला अस्पतालहरुमा त झन् जनशक्तिसँगै अक्सिजन प्लान्टको समेत अभाव भइरहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा झन्डै एक दर्जन सरकारी अस्पताल रहेपनि धनगढी बाहिरका अस्पतालमा स्रोत र साधनको अभाव कायमै रहेको हो । धनगढी बाहिर सिकिस्त बिरामीको उपचारमा प्रयोग हुने उपकरणहरु र जनशक्तिको खाँचो टड्कारो छ । प्रदेश सरकारले २० वटा भेन्टीलेटर बिभिन्न १० वटा अस्पताललाई दुई थानका दरले वितरण गरेको भएपनि ती सञ्चालनमा ल्याउन दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकिदा अस्पतालमा थन्क्याउनुपर्ने अवस्था आएको बताइएको छ ।

टिकापुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रेमकुमार राईले भने, ‘दक्ष जनशक्तिको अभावमा हामीले प्राप्त गरेका उपकरण सञ्चालन गर्न सकिरहेका छैनौँ ।’ कञ्चनपुरको महाकाली अस्पतालमा छ वटा आईसीयू बेड रहेपनि कोभिडको लागि कुनै पनि छुट्याइएको छैन ।

प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा १५ आईसीयू बेड र ११ भेन्टीलेटर रहेको जनाइएको छ । ती मध्ये १० आईसीयू बेड र पाँच भेन्टिलेटर कोभिडको लागि छुट्याइएको छ । सेती अस्पतालमा दक्ष जनशक्ति रहेपनि बिरामीको चापको अनुपातमा कर्मचारी र उपकरण अभाव हुने चिन्ता हटिसकेको छैन ।

अहिले अस्पतालमा नयाँ आउने बिरामीका लागि आईसीयूमा बेड खाली नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । सुदूरपश्चिम पहाडका सबै जिल्ला अस्पतालहरुमा दुई/दुई थान भेन्टीलेटर प्रदेश सरकारले उपलब्ध गराएको भएपनि केहि जिल्लामा अझै उपकरण जडान भइनसकेको पाइएको छ ।

उपकरण जडान भएका अस्पतालमा पनि उपकरण चलाउने दक्षजनशक्ति र अक्सिजन प्लान्ट नहुँदा कोभिड उपचार तयारी अझै पूरा भइसकेको छैन । सुदूरपश्चिमका पहाडी जिल्लाका कोभिड–१९ संक्रमित बिरामीलाई उपचारका लागि धनगढी ल्याउनुपर्ने बाध्यता नहटेको र र प्रदेशभर आईसीयु र भेन्टीलेटर अभाव कायमै रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्