महानगरपालिकाको विशेष नगरसभा बोलाउन माग



न्युज अफ नेपाल, ललितपुर ।

एक तिहाई सदस्यहरुले ललितपुर महानगरपालिकाको विशेष नगरसभा बोलाउन माग गरेका छन् ।

नगरसभाबाट पारित भएका निर्णय विधि र प्रक्रिया अनुरुप कार्यान्वयन नभएको भन्दै उनीहरुले सो माग गरेका हुन् । एकतिहाई सदस्यहरुले आफ्नो नाम र हस्ताक्षरसहित विशेष नगरसभाको बैठक बोलाउन महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसमक्ष पत्र बुझाएका छन् । ‘हामीले मेयर समक्ष पत्र बुझायौं । उहाँले पत्र हेरेर जवाफ दिनेछु भन्नुभयो । त्यसपछि हामी फर्कियौं ।’ महानगरपालिकाका – ५ का वडा सदस्य शोभा प्रधानले भन्नुभयो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा ( ३) लाई आधार लिँदै उनीहरुले बैठक बोलाउन माग गरेक हुन् । सो उपदफामा सभाका एक तिहाई सदस्यहरुले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुख समक्ष विषय वा कारण खुलाई लिखित अनुरोध गरेमा १५ दिनभित्र अध्यक्ष वा प्रमुखले सभाको विशेष बैठक बोलाउनु पर्नेछ भनी उल्लेख गरिएको छ ।

विशेष नगरसभाको बैठक बोलाउनुपर्नाको आधार र कारणमा नौं बुँदा पेश गरिएको छ । त्यसमा कोरोना संक्रमितहरुले स्वास्थ्य उपचार नपाएको, थला परेका व्यवसायीहरुलाई बहालकर छुट दिनुपर्ने, कोरोना खर्चको फाँटवारी सार्वजनिक गर्नुपर्ने विषयहरु अघि सारिएको छ ।

त्यसैगरी वडाबाट सम्पत्ति कर र योजना सम्झौता कार्यान्वयन नभएको र सफाई शुल्क विषयमा छलफल गर्नुपर्ने पनि पत्रमा भनिएको छ । नगर सभा, कार्यपालिका र विषयगत समितिबाट निर्णय भएका बाहेक विधि र पद्वति मिचेर गरिएका सबै काम कारवाहीहरु खारेज गर्नपनि पत्रमा माग गरिएको छ ।

नगरसभा सदस्यहरुले वर्षमा एकचोटी ताली बजाउने बाहेक महानगरपालिकाको विकासमा आफ्नो खास सहभागिता नहुने गरेको भन्दै आलोचना गदै आइरहेको विषयमा परिस्थितिको आवश्यकता अनुसार सो माग गरिएको पनि वडासदस्यहरु बताउँछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्