शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै



काठमाडौँ ।

नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्‍याउनुभएको योदानको स्मरणमा आज उहाँको जन्मजयन्ती मनाइँदैछ । विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भोजपुर जिल्लाको दिङ्लामा पिता लक्ष्मीनारायण र माता रुक्मिणी अधिकारीको पुत्रकारुपमा जन्मनुभएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाउनुभएको थियो । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो । यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ ।

त्यसबेला आममानिसले दैनिक उपभोग गर्ने अत्यावश्यक चीजबीजको सहज आपूर्ति थिएन । किसानले उत्पादन गरेका अनाज बिक्री गर्ने व्यवस्था नहुँदा मानिस कष्ट भोग्न बाध्य थिए । षडानन्दले दिङ्ला भञ्ज्याङमा प्रत्येक शनिबार हाटबजार लाग्ने व्यवस्था मिलाउनुभयो । यसले भोजपुर र सङ्खुवासभाका धेरै जनतालाई दैनिक जीवन उपार्जनमा सहजता मिलेको थियो ।

त्यसैबेलादेखि दिङ्लामा स्थापना भएका शिवालय एवं राम, सीताका मन्दिरमा बाला चतुर्दशी र रामनवमी पर्वको मेला शुरु भयो । मेलामा पनि बजार लाग्ने व्यवस्था मिलाएपछि त्यस क्षेत्रका मानिसको जीवन यापनमा सजिलो भयो । षडानन्दले बगँैचा स्थापना गरेर धेरै प्रकारका बिरुवा लगाउनुभयो । त्यसक्षेत्रका वनजङ्गलमा प्रशस्त हुने रुद्राक्षलाई उहाँले व्यावसायिक खेती गर्न जनतालाई प्रेरित गर्नुभयो । यो खेती हाल भोजपुर, सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानमा भइरहेको छ जसले अर्थोपार्जनमा सहयोग गरेको छ । १५० वर्षअघिदेखि वन संरक्षण शुरु गरेकैले यस क्षेत्रको पर्यावरण सुधारमा योगदान गरेको दिङ्ला पुख्र्यौली थलो भएका दयाकृष्ण न्यौपाने बताउनुहुन्छ ।

षडानन्दले विसं १९४० मै जगेडा वनको अवधारणा ल्याउनुभएको थियो । उहाँको सोचअनुसार स्थापना भएको वनलाई हाल विकासका नाममा वन विनाश गर्न थालेको राजधानीमा बस्दै आएका भोजपुरवासीको गुनासो छ । नेपालमै पहिलोपटक सामुदायिक वनको सोच अघि सार्नुभएका षडानन्दको यो पाटो ओझेलमा परेको इन्द्रमणि सुवेदी बताउनुहुन्छ । अष्ट्रेलियन वन परियोजनाले पञ्चायतकालमा सिन्धुपाल्चोकको ठोकर्पामा शुरु गरेको अभियानलाई पहिलो सामुदायिक वनको शुरुआत भनिएकामा उहाँको आपत्ति छ । वनलाई समुदायको हितमा उपयोग गर्ने षडानन्दको योगदान बिर्सन नहुने सुवेदीको माग छ ।

षडानन्दको कालदेखि नै भोजपुर र यस वरपरका जिल्लामा शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा भएको विकासले पूर्वी क्षेत्रको अर्थतन्त्र धानिएको बताइन्छ । षडानन्दले विसं १९४० मा बहुआयामिक उद्देश्य समेटेको सीताराम गुठी स्थापना गर्नुभयो । गुठी अन्तर्गत विद्यालय, मन्दिर, भौतिक संरचना, धार्मिक सांस्कृतिक कामको उन्नयन एवं व्यवस्थापनका साथै ऋण प्रदान सेवा पनि समेटिएको उहाँका विषयमा अन्वेषण गरिरहनुभएका यादव चापागाईँ बताउनुहुन्छ ।

गुठीमा तीन हजार २१७ रोपनी जग्गा राखिए पनि हाल त्यो मासिएर करिब ९०० रोपनीमा सीमित भएको छ । राजनीतिक दाउपेचले सामाजिक हितमा उपयोग हुँदै आएको गुठी जग्गा संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

षडानन्द नगरपालिकाले पुरातात्विक महत्वका सिँढी, राम, सीता र हनुमानका नाममा स्थापना भएका कुण्ड पुनःनिर्माण गर्न लागेको छ । गुठी व्यवस्थापनका लागि नगरपालिकामा गुठी शाखा नै स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

गुठीको अध्यक्ष रहनुभएका दिङ्लावासी कृष्णप्रसाद पौडेल जग्गासमेत भएकाले षडानन्दको योगदानको कदरका लागि विश्वविद्यालय स्थापना गर्न ढिलाइ गर्नुनहुने माग गर्नुहुन्छ । तीनै तहका सरकारको सक्रियतामा कृषि वा अन्य नामका विश्वविद्यालय बनाउन सकिने दिङ्लावासीको माग छ ।

षडानन्द र योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने षडानन्द प्रतिष्ठानका सदस्यसचिव लालनाथ सुवेदीले बताउनुभयो । समाजसुधारका क्षेत्रमा योगदान गर्नुभएका दुवैको योगदानको कदर गर्दै विभूति घोषणामा ढिलाइ गर्नुनहुने उहाँको भनाइ छ ।

षडानन्दले विसं १९४० मा सती जान बाध्य पारिएका दुई महिलालाई मृत्युको मुखबाट बचाएर समाज सुधार आरम्भ गर्नुभएको भोजपुरवासी बताउँछन् । भोजपुर वितलवका ७० वर्षीय हरिलाल लम्सालको निधन हुँदा समवयी जेठी श्रीमती र १८ वर्षीय कान्छी श्रीमतीलाई सतीका रुपमा पठाउन बेग्लाबेग्लै डोलीमा राखिएको थियो । स्थानीय नन्दीकेश्वर अधिकारीबाट यसको जानकारी पाएपछि षडानन्द लम्सालको घरतर्फ लाग्नुभयो ।

बाटो लागिसकेको शवयात्रालाई रोकी मलामीलाई दुवै महिलालाई सती पठाउन नहुने भनी उहाँले सम्झाएपछि दुई जनाको जीवन बचेको षडानन्दका विषयमा अध्ययन अनुसन्धानमा लाग्नुभएका प्रा डा गोविन्दमानसिंह कार्की बताउनुहुन्छ । षडानन्दले आफ्नी आमा रुक्मिणीको निधन भई अरुण नदीको सतीघाटमा अन्तिम संस्कारको लागि गएका बेला अरुणपारी मृतक पतिसँगै पत्नीलाई जलाएको घटना सुन्नुभएको थियो । त्यहीबेलादेखि उहाँ यो अमानवीय प्रथाको अन्त्यका लागि दृढसङ्कल्पित हुनुभयो ।

सुदूर पूर्व भोजपुरको दिङ्लाबाट बालागुरु षडानन्दले शुरु गर्नुभएको अभियानले विसं १९७७ मा साकार रुप लियो । तत्कालीन श्री ३ राणा प्रधानमन्त्री चन्द्रशम्शेरले सतीप्रथा उन्मुलनको घोषणा गर्नुभयो । शिक्षासेवामा महत्वपूर्ण योगदान गर्नुभएका षडानन्दले सतीप्रथा उन्मूलनका लागि राणा सरकारलाई उत्प्रेरित गर्नुभएको थियो ।

आबाल ब्रह्मचारी षडानन्दले २४ पटक गायत्री पुरश्चरण गर्नुभएको थियो । योग साधनामा समेत उहाँको विशेष योगदान छ । शिक्षा, स्वास्थ्य, समाजसुधार एवं जनजीविका चलाउन सीप सिकाउने षडानन्दको योगदान वैदिक ज्ञानको उन्नयनमा समेत छ । उहाँले राजधानीको टेकु, पचली, गोकर्णेश्वर उत्तरगया क्षेत्रलगायत स्थलमा आध्यात्मिक साधनासमेत गर्नुभएको थियो । उहाँको योगदानको स्मरण गर्दै उत्तरबाहिनी समेत भनिने गोकर्णेश्वर उत्तरगया क्षेत्रमा शालिक निर्माण भइरहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ षडानन्दले राणाकालमै पूर्वी नेपालमा बालेको अध्यात्मको ज्योति निभेकाले त्यसलाई पुनर्जीवित गर्न थप अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताउनुहुन्छ । मन्त्रमा विज्ञानलाई फेल गराउने ज्ञान भएकाले दिङ्लाको अध्यात्मको ज्योति फेरि जगाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्