झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो : बाबुराम भट्टराई



न्युज अफ नेपाल, काठमडौं ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डमा संलग्न रहेका सांसद रेशम चौधरी र लक्ष्मण थारुलाई जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको फैसलालाई लिएर असन्तुष्टि जनाएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्यंग्य गर्दै लेख्छन्, “विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो ।”

शुक्रबार एक ट्वीट गर्दै भट्टराईले यस्तो असन्तुष्टि ब्यक्ति गरेका हुन् । ट्वीटमा भनिएको छ, “यथास्थितिको रक्षार्थ कानूनरअदालत बन्छन्।अतस्उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन ! विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो ! यो अन्याय सैह्य छैन।थारू नायकहरूलाई सलाम !”

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्यान गएको थियो। घटनामा उच्च अदालत दिपायलले रेशमलाल र लक्ष्मणलाई मुख्य दोषी ठहर गर्ने जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको हो। उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टीकापुर घटनामा दोषी देखिएका सांसद चौधरी तथा अर्का नेता थारूलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै जन्मकैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्