अन्नपूर्ण चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी



नेपाल समाचारपत्र, सर्लाही ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । किसानको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नदिएका कारण अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

किसानले तीन वर्षदेखि उखुको रकम नदिएको उजुरी प्रशासनमा दिएपछि त्यसैको आधारमा मिल सञ्चालक अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले किसानको अझै १७ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । किसानको तीन वर्षदेखिको रकम अन्नपूर्ण सुगर मिलले भुक्तानी नगरेको भन्दै उखु किसानले पाँच दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

उद्योगले किसानको करोडौं रकम भुक्तानी गर्नुपर्ने भएपछि गएको वर्ष अन्नपूर्ण सुगर मिलले उद्योग नै बन्द गरेर उखु क्रसिङ गरेन । जिल्लाको अर्को चिनी कारखाना इन्दु शंकर चिनी कारखानाले यस सिजनका लागि उखु क्रसिङ गर्ने तयारी थालेको छ । उद्योगले मंगलबारदेखि मिलमा उखु ल्याउने चलान पुर्जी किसानलाई वितरण गर्न थालेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।

सर्लाहीमा यस वर्ष गत वर्षको तुलनामा ४० प्रतिशत उखु खेती कम छ । सरकारले उखुको मूल्य सन्तोषजनक रूपमा निर्धारण नगरेका कारण किसानको उखु खेतीप्रति आकर्षण घटेको हो । किसानको लागत मूल्यअनुसार उखुको मूल्य प्रतिक्विन्टल ६ सय १५ रुपियाँभन्दा माथि हुनुपर्ने किसानको भनाइ छ ।

सर्लाहीमा उत्पादन भएको उखु जिल्लाका इन्दुशंकर चिनी कारखाना हरिवन, अन्नपूर्ण सुगर मिल धनकौल, महालक्ष्मी सुगर मिल बगदह र एभरेस्ट सुगर मिल मोहत्तरीले क्रसिङ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्