गुमनाम ‘डुम्रेकोटगढी र कोटगढी’ संरक्षण सुरु



रामधन राई, खोटाङ ।

संरक्षण र प्रचार–प्रसारको अभावमा गुमनाम वनेको खोटाङस्थित ऐतिहासिक डुम्रेकोटगढी र कोटगढी संरक्षणमा स्थानीय सरकारले चासो देखाएको छ । रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने उक्त दुबै गढी संरक्षणमा सोही गाउँपालिकाले चासो देखाएको हो ।

करिब तीन सय वर्षअघि बाइस–चौबीसे राज्यको पालामा किरातवङ्शीय शासकहरुले राज्य सञ्चालन गर्ने थलोको रुपमा उक्त गढीहरुलाई चिनिन्छ । ती ऐतिहासिक गढीहरु संरक्षणका लागि गत वर्षदेखि बजेट व्यवस्था गरेर अघि वढिएको रावाबेसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले वताउनुभयो । उक्त गढीहरुमा संरक्षण गरी पर्यटन प्रबद्र्धनका साथै भावी पुस्तालाई उक्त इतिहास जानकारी गराउन गढी संरक्षण आवश्यक रहेको अध्यक्ष निरौलाको भनाई छ ।

त्यसवेला डुम्रेकोटगढीमा राज्य सञ्चालन र कोटगढीमा हतियार भण्डारण गरिन्थ्यो । डुम्रे धारापानीमा पिउने पानीको अभाव भएकाले दुधकोशीवाट बोकेर ल्याईएको पानी भण्डारण गर्न त्यही समयमा निर्मित ईटा प्रयोग गरी निर्माण गरिएको ईनार अझै पनि देख्न सकिन्छ । यता, कोटगढीको मुख्य भागमा रहेको बङ्कर लगायतको अवशेष स्पष्ट देख्न सकिने ४ नम्वर वडाअध्यक्ष ज्ञानबहादुर पाण्डले सुनाउनुभयो ।

वरिपरि सबैतिर देख्न सकिने उक्त ठाउँलाई भ्युप्वइन्टको रुपमा समेत विकास गर्न सकिने वडाअध्यक्ष पाण्डेको भनाई छ । पाण्डेका अनुसार उक्त गढी संरक्षणका लागि करिब नौ लाख खर्च गरिएको छ । राणकालीन शासनकालमा पूर्व ३ नम्बर क्षेत्र अन्तरगत डुम्रेकोटगढीमा राईहरुले राज्य गरेको उक्त गढीसम्वन्धी अध्ययनकर्ता ऐसेलुखर्क गाउँपालिका रिब्दुङका लवकुमार राईले जनाउनुभयो । उक्त क्षेत्रमा पञ्चायत कालमा सोलुखुम्बु जिल्लामा पर्दथ्यो ।

त्यसबेला तत्कालीन भूमि सुधार अधिकृत गोपाल कोइरालाको टोलीले त्यहाँ भएका तोप लगायतका अन्य हतियारहरु लिएर गएको राईको भनाई छ । स्थानीय भीम पाण्डेका अनुसार कोइरालाको नेतृत्वमा डुम्रेगढीमा भएको बङ्कर क्षेत्रमा खनेर त्यहा“ भएका सबै हतियार लिएर गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्