शिक्षामा प्रदेश सरकारको लगानी जिल्लामा १८ विद्यालय भवन निर्माण हुँदै



न्युज अफ नेपाल, दार्चुला ।

जिल्लाका विभिन्न स्थानिय तहमा गरी यस वर्ष १८ वडा विद्यालय भवन निर्माण हुने भएका छन् । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्लामा हालै स्थापना गरिएको सामाजिक विकास कार्यालय मार्फत उक्त विद्यालय भवनहरु निर्माण गरिन लागेका हुन् ।

विद्यालय भौतिक पुर्वाधार निर्माण कार्य अन्तरगत ११ वटा विद्यालय भवन २ कोठे र ७ वटा विद्यालय भवन ४ कोठे फर्निचर सहितका निर्माण गरिने सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गरि सक्ने गरी कार्य संचालन गर्न विहीबार खलंगामा आयोजित विद्यालय भौतिक पुर्वाधार निर्माण सम्बन्धि सम्झौता कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा सम्झौता गरिएको उहाले बताउनुभयो ।

डिजाइन र स्टीमेट सहितको नमुना सम्झौता पत्रमा विद्यालयका प्रतिनिधि र कार्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
शिक्षाको गुणस्तर बृद्धि गर्न भौतिक पुर्वाधार आवश्यक रहेको भन्दै सामाजिक विकास मन्त्रालयले जिल्लाका विभिन्न स्थानिय तहका विद्यालयहरुमा २ कोठे र ४ कोठे भवन निर्माण गर्न चालु आवमा बजेट विनियोजन गरेको कार्यालय प्रमुख ओझाले जानकारी दिनुभयो ।

२ कोठे ११ वटा भवन निर्माणका लागी २ करोड ४२ लाख तथा ४ कोठे ७ वटा फर्निचर सहितका भवन निर्माणका लागी २ करोड ९४ लाख रुपैया बजेट विनियोजन गरिएको उहाको भनाई छ । जिल्लाका ब्याँस गाउँपालिका बाहेकका स्थानिय तहमा विद्यालय भवनहरु निर्माण गरिन लागेका छन् ।

सबै भन्दा बढी लेकम गाउँपालिकामा विद्यालय भवनहरु निर्माण हुने जनाइएको छ । लेकम गाउँपालिकामा ५, अपिहिमाल गाउँपालिकामा ३, नौगाड गाउँपालिकामा १, दुहुँ गाउँपालिकामा ३, महाकाली नगरपालिकामा १ मार्मा गाउँपालिकामा २ र शैल्यशिखर नगरपालिकामा ३ गरी १८ वटा विद्यालय भवन निर्माण गरिन लागेका हुन् । १८ वटा फर्निचर सहितका विद्यालय भवन निर्माणमा कुल ५ करोड ३६ लाख रुपैया खर्च हुने जनाइएको छ । क्या

प्रतिक्रिया दिनुहोस्