चिनियाँ कम्पनीद्वारा फाइजर-बायोएनटेकको १० करोड डोज कोरोना खोप खरिद गर्ने



बेइजिंग (एजेन्सी)

चीनको एक फार्मास्युटिकल कम्पनीले जर्मनीको बायोएनटेक कम्पनीको कोरोना खोपको १० करोड डोज खरिद गर्ने निर्णय गरेको छ । चीन सरकार यो सम्झौतालाई चाँडै मन्जुरी दिन सक्ने बताइएको छ । चीनकै पाँच कम्पनी आफ्नै कोरोना खोप विकसित गरिरहेका छन् । तर केही स्थानिय कम्पनी अर्को देशको खोप कम्पनीको सम्पर्कमा छन् ।

चीनको फोसन कम्पनीले खरिद गर्न चाहेको खोप जर्मनीको बायोएनटेक कम्पनी र अमेरिकाको फाइजर फार्मास्युटिकलसँग संयुक्त रुपमा विकसित गरेको हो । फाइजरको उक्त खोपलाई बेलायत र अमेरिकाले आपतकालिन प्रयोगका लागि अनुमति पनि दिइसकेको छ र ती देशमा खोप अभियान पनि थालिसकेको छ ।

बायोएनटेकसँग सहमति सांघाइ स्थित फोसन फार्मास्युटिकल समुहले गरेको हो । यसका लागि समुहले करिब १५ करोड २० लाख डलरको सुरुवाटी भुक्तानी पनि गरिसकेको छ । बर्षको अन्तसम्ममा ५ करोड डोज खोप बायोएनटेकले चिनियाँ कम्पनीलाई सुम्पिसक्ने बताइएको छ । यो खोप सहमति ३० करोड ४० लाख डलरको हो ।

युएई र बहराइनद्वारा चिनियाँ खोपलाई अनुमति

चीनको सिनोफार्मले विकसित गरेको कोरोना खोपलाई युनाइटेड अरब इमिरेट्सले मन्जुरी दिएको छ । चीन बाहिर उक्त खोपलाई अनुमति दिने यूएई सरकार पहिलो हो । चिनियाँ खोपको प्रारम्भिक डाटाले ८६ प्रतिशत प्रभावकारिता देखाएको छ । कुनै खोपको प्रभावकारिता सफल हुन यो आंकडा पर्याप्त हो ।

त्यसैगरी चाइना नेसनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म)ले विकास गरेको चिनियाँ खोपलाई अनुमति दिने अर्को राष्ट्र बहराइन हो । बहराइन सरकारले नागरिकहरुलाई खोपका लागि अनलाइन रजिस्ट्रेसन पनि खुला गरिसकेको छ । बहराइनको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तीमा १८ बर्ष भन्दा बढी उमेर समुहका नागरिकले निशुल्क खोप हासिल गर्न सक्ने जनाइएको छ ।

बहराइन सिनोफार्मको कोरोना खोपको तेस्रो चरणको परिक्षणमा समावेश रहेको र फ्रन्टलाइनमा काम गरिरहेका पेशागत ब्यवसायीका लागि आपतकालिन प्रयोग गर्न यसअघि नै अनुमति दिइसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । बहराइनले केही दिन अघि मात्रै फाइजर बायोएनटेक खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो ।

कोरोना भाइरसको उदगम चीनको वुहान भएपनि चीनले यसको संक्रमणमाथि नियन्त्रण पाइसकेको छ । विश्वमा अहिलसम्म ७ करोड ३७ लाख भन्दा बढी यस भाइरस संक्रमणको चपेटामा आइसकेका छन् भने १६ लाख ३० हजार भन्दा धेरैले ज्यान गुमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्