किसानको बारीमै पुगेर आलु खेतीको सहभागितात्मक अनुगमन



राम धामी, डडेल्धुरा ।

जिल्लास्थित सरोकारवालाहरुले किसानको बारीमै पुगेर व्यवसायीक आलु खेतीको सहभागितात्मक अनुगमन मुल्यांकन गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराले आलु खेती प्रवद्र्धनका लागि डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा हालसम्म सम्पन्न गरेका मुख्य कृयाकलापहरुको स्थलगत अनुगमन गर्न बिहीबार गएको अनुगमन टोलीले किसानहरुको बारीमै पुगेर कार्यक्रम अनुगमन गरेको हो ।

परियोजनाको जिल्लास्तरीय अनुगमन समतिका पदाधिकारीहरुका साथै आलु सुपरजोन कार्यक्रम सञ्चालक समितिका पदाधिकारीहरु र जिल्लामा कृयासिल सञ्चारकर्मीहरुसहितको टोलीले किसानहरुको बारीमै पुगेर आलुखेतीको स्थलगत अनुगमन गर्नुका साथै किसानहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराले आलु सुुपरजोन अन्तर्गत व्यवसायीक आलुखेतीको पकेट क्षेत्र विस्तारका क्रममा तीनओटै तहका सरकारसँग समन्वय सहकार्यगर्दै अघि बढेकाले हाल डडेल्धुरा जिल्ला आलुमय बन्न थालेको छ ।

हिउँदयाममा गहुँबारी र बर्षेबालीमा धान र मकैमात्रै देखिने यँहाका फाँटहरुमा हाल जताततै आलुखेतीमात्रै गरेको देख्न सकिन्छ । आलु सुपरजोन कार्यक्रम अन्तर्गत किसानहरुलाई मल, विउविजन, कृषि यन्त्र र उपकरणहरु अनुदानमा सहयोग गर्नुका साथै उन्नत खेती प्रविधी, साना सिँचाई योजना निर्माण र बजारीकरणमा सघाएपछि हाल डडेल्धुरामा व्यवसायीक आलुखेती बिस्तार हुँदै गएको छ ।

यँहाका व्यवसायीक किसानहरुले बिउ आलु समेत उत्पादन गरेर मनग्गे कमाई रहेका छन भने आलु निर्यातबाट बर्षेनी करोडौं रुपैयाँ जिल्ला भित्रिन थालेको छ । अनुगमनका लागि खेतबारीमा पुगेको जिल्लास्तरीय टोलीसँग गुनासोगर्दै व्यवसायीक किसानहरुले शितलहर र वन्यजन्तुले बर्षेनी लाखौंको नोक्सानी पुगाईरहेको भए पनि कुनै पनि निकायबाट राहात पाउन नसकेको गुनासो गरेका छन् ।

देशभरकै आलु खेतीका लागि ख्याती कमाएका गन्यापधुरा–१ का किसान प्रसाद अवस्थीले आफुले झण्डै तीन सय रोपनीमा आलु खेती गरेर दर्जनौ बेरोजगार युवाहरुलाई रोजगारी दिनुका साथै छिमेकी किसानहरुलाई पनि व्यवसायीक किसान बन्न उत्प्रेरणा दिईरहेको भए पनि राज्यबाट पाउनुपर्ने कुनै पनि किसिमको अनुदान पाउन नसकेको गुनासो गरे । उनले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगले मात्रै आफु आलु खेती गरिरहेको बताए ।

किसानहरुले अनुगमन टोली समक्ष उठाएका समस्याहरुका बारेमा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधीहरुले जवाफ दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्ट, अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा, गन्यापधुरा गाँउपालिकाका अध्यक्ष नबलबहादुर मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्ट, भेटनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रका प्रमुख देवराज भट्ट, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्य, अमरगढी र गन्यापधुराका जनप्रतिनिधीहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, सञ्चारकर्मीसहितको टोली अनुगमनमा गएको हो ।

अनुगमन टोलीमा संलग्न ब्यक्तिहरुले व्यवसायीक आलु खेती गरिरहेका किसानहरुका समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । डडेल्धुरा जिल्लालाई आलु उत्पादनका क्षेत्रमा देशभरिमै अग्रणी बनाउनका लागि यँहाका व्यवसायीक किसानहरुले अतुलनीय योगदान पुगाईरहेको बताउदै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमख भट्टले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले तीनओटै तहका सरकारसँग समन्वय सहकार्य गरेर आलु खेती प्रर्वद्धनका लागि निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै जिल्ला समन्वय समितिले सदैव आलु खेती प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

अमरगढी नगरपालिकाका नगरप्रमुख ओझा र गन्यापधुरा गाँउपालिकाका अध्यक्ष मल्लले आलु खेती प्रवद्र्धनका लागि भइरहेको प्रयासमा स्थानीय तहले सक्दो सहयोग पुगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आलु खेती प्रवद्र्धनका लागि महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका अगुवा किसानहरुका साथै सहयोगी निकायहरुलाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराले कदर पत्र समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्