नौ महिनादेखि बन्द म्याग्दीका होटल तथा धार्मिक क्षेत्र पुन: सञ्चालनमा



प्रताप बानियाँ, म्याग्दी ।

कोभिड–१९ का कारण विगत ९ महिनादेखि बन्द रहेका म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र खुलेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमले बन्द भएका पर्यटकीय क्षेत्रका होटल र धार्मिक स्थल बुधबारदेखि पर्यटक र भक्तजनहरुका लागि खुला गरिएको हो ।

राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि खुलेका छन् । यसैगरी म्याग्दीको गलेश्वर शिवालय, पौलस्त्य पुलहाश्रम, जगन्नाथधाम तथा अन्य मठमन्दिरहरु पनि भक्तजनका लागि खुला गरिएको छ ।

सरकारले जारी गरेको जनस्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गरी बन्द रहेका होटल, रेष्टुरेन्ट र धार्मिकस्थल खुला गरिएको छ । लामो समयसम्म होटल बन्द रहँदा व्यवसायमा पनि असर गरेकाले सुरक्षा सतर्कता अपनाएर सम्पूर्ण होटल खुला गरिएको घोडेपानीका होटल व्यवसायी बलराम पुनले जानकारी दिनुभयो ।

घोडेपानी टोल विकास समितिको निर्णयअनुसार होटेल व्यवसाय खुला भएको पर्यटन प्रहरीचौकी घोडेपानीले जनाएको छ । घोडेपानीमा मात्रै सानाठूला गरी करिब ३५ वटा होटल तथा रेष्टुरेण्टहरु सञ्चालनमा छन् । म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघमा कुल २ सय ३७ वटा होटलहरु आबद्ध छन् ।

तीमध्ये २० वटा एसीसहितका होटल छन्भने ५ सय ६४ वटा एट्याच होटल रहेकोमा ७ सय ७५ वटा साधारण खालका होटलहरु छन् । कुल ३ हजार १ सय १२ वटा बेडहरु रहेका होटलमा एक रातमा ४ हजार ९ सय ४९ जनाको क्षमता छ । म्याग्दीको होटल क्षेत्रमा झण्डै पाँचअर्ब लगानी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्