निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच छलफल तीव्र



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले राजनीतिक नेतृत्वलाई भेट गरी निजी क्षेत्रका विषयमा छलफल गर्नेक्रममा बुधबार पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेको छ ।

उक्त छलफलमा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएको छ । सरोकारवाला निकाय एवम् विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको अध्यक्ष गोल्छाले स्पष्ट पार्नुभयो । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीद्वयले उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गर्दै आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाउनुभयो । महासंघको नयाँ नेतृत्वको अगामी कार्ययोजनाबाट प्रभावित भएको पनि सो अवसरमा उहाँहरूले व्यक्त गर्नुभयो । यसअघि महासंघ नेतृत्वले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेतासँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्