खुल्ने भए कास्कीका सामुदायिक क्याम्पस



नेपाल समाचारपत्र, कास्की ।

नेपाल पब्लिक क्याम्पस संघ कास्कीमा आबद्ध क्याम्पसहरुले आफ्ना विद्यार्थीको पठनपाठन भौतिक उपस्थितिमा नै गर्ने भएका छन् । संस्थाको मंगलबार बसेको बैठकले विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई ध्यान दिँदै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै क्याम्पस खुल्ने भएका हुन् ।

संघका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले त्रिवि रजिस्ट्रार कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाको मंसिर १४ गते जारी गरेको सूचनालाई अवलम्बन गर्दै यही पुस १३ देखि पठनपाठन गर्ने निर्णय गरेको छ । सो सूचनाबमोजिम नै क्याम्पसहरुले आवश्यक सतर्कता र मापदण्ड पूरा गर्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको नेपाल पब्लिक क्याम्पस संघ कार्यसम्पादन समितिका सदस्य बिरन्जी गौतमले बताउनुभयो ।

उक्त निर्णयसँगै विगत नौ महिनादेखि बन्द भएका क्याम्पसमा प्रत्यक्ष कक्षा सञ्चालन हुने भएका छन् । कोभिड–१९ का कारण कास्कीका सामुदायिक क्याम्पसहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका भए तापनि प्रभावकारी भने हुन सकेको छैन ।

जसका कारण त्रिभुवन विश्वविद्यालयले सम्भव भएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न क्याम्पसहरुको नाममा सूचना जारी गरिसकेको छ । जसका कारण काठमाडौँ उपत्यका र पोखराबाहेक अधिकांश स्थानमा प्रत्यक्ष कक्षा सञ्चालन भइसकेका छन् भने त्रिविले भौतिक उपस्थितिमै स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु सञ्चालन गरिरहेको छ । राष्ट्रिय परिक्षा बोर्डले पनि कक्षा ११ र १२ का परिक्षा सञ्चालन गरिसकेको छ ।

कास्कीका सरकारी विद्यालयहरुले पनि विद्यार्थीको पठनपाठन गत सातादेखि भौतिक उपस्थितिमै शुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्