जिल्ला समन्वय समिति प्रमुखले नै गरे सर्लाही बन्द



पुष्पा थापा, सर्लाही । 

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको आह्वानमा बुधबार सर्लाही बन्द भएको छ । हुलाकी सडक तत्काल कालोपत्रे हुनुपर्ने र नेपाल–भारत सीमानाका खुलाउनुपर्ने माग गर्दै गठन भएको सर्वपक्षीय संघर्ष समितिको आयोजनामा सर्लाही बन्द भएको हो ।
जिल्ला समन्वय समितिका संयोजक चौधरीले पूर्वघोषित कार्यक्रमअनुसार नै जिल्ला बन्द भएको बताउनुभयो । संघर्ष समितिका

कार्यकर्ताले बुधबार दिउँसो सदरमुकाम मलंगवालगायत बरहथवा सलेमपुर गोढैतामा टायर बालेर जिल्ला बन्दको आह्वान गरेका थिए ।

समन्वय समितिका संयोजक चौधरीले मंगलबार दिउँसो एक प्रेस विज्ञप्ति निकाल्दै जिल्लाभर सम्पूर्ण हाटबजार, पसल, सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था र यातायाता पूर्णः बन्द गराउन विज्ञप्तिमार्फत भन्नुभएको थियो । संघर्ष समितिले मंसिर २१ गतेदेखि हुलाकी सडक तत्काल कालोपत्रे हुनुपर्ने र नेपाल–भारत सीमानाका खुलाउनुपर्ने माग गर्दै मलंगवामा धर्ना दिँदै आएको छ ।

बन्दका कारण सदरमुकाम खुलेन भने सदरमुकामबाट बाहिरिने र भित्रिने कुनै पनि सवारीसाधन सञ्चालन भएन । संघर्ष समितिले गरेको बन्दको प्रभाव पूर्व–पश्चिम राजमार्गमा भने खासै परेन । राजमार्गमा दिनभर नै बजार तथा यातायात पूर्ववतरूपमा सञ्चालन भएका थिए । धर्ना कार्यक्रममा पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता संघीय सांसद महेन्द्र राय, संघीय सांसद प्रमोद साह, प्रदेश सांसद अशोक यादव तथा जिल्लाका केही पालिका प्रमुख, उद्योगी, व्यापारी, विभिन्न राजनैतिक दलका नेतालगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्