राप्रपा बलियो प्रजातान्त्रिक शक्ति निर्माणमा अघि बढ्दै : उपाध्यक्ष ढकाल

राप्रपाको झण्डोत्तोलन र चुनाव चिन्ह अनावरण



पुष्कर बुढाथोकी, भक्तपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष टंक ढकालले राप्रपा बलियो प्रजातान्त्रिक शक्ति निर्माणमा अघि बढेको बताउनुभएको छ ।भक्तपुरमा राप्रपाको झण्डोत्तोलन र चुनाव चिन्ह अनावरण गर्दै उहाँले देशमा बलियो प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले धर्म, संस्कृति, भाषा, परम्पराको रक्षा गर्दै सम्पूर्ण नेपालीलाई एक ढिक्का बनाउन राप्रपा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।उपाध्यक्ष ढकालले देशको राष्ट्रियतालाई बलियो बनाउन राप्रपा एकीकरण गरिएको दाबी गर्नुभयो ।

राप्रपाका केन्द्रीय सदस्य रामसुन्दर विष्टले नेकपा र कांग्रेसलाई मत दिएका जनता अहिले उनीहरुका कृयाकलाप देखेर पश्चातापमा रहेको बताउनुभयो ।राप्रपा भक्तपुरका अध्यक्ष माधव खत्रीले गणतान्त्रिक व्यवस्था परिवर्तन गर्ने जिम्मेवारी राप्रपाको काँधमा आएको बताउनुभयो ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य त्रय यवती कार्की,नरगोबिन्द शंखदेब ,जमुना थापा र जिल्ला सचिब श्याम नेपाल लगायतले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना नभएसम्म राष्ट्रवादी आन्दोलन टुंग्याउन नहुनेमा जोड दिनुभयो ।

राप्रपाले मंसिर ६ गते भक्तपुरमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा बृहत मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम गर्ने जनाएको छ।

तर राप्रपाको कार्यक्रम राप्रपा संयुक्तका नेता तथा कार्यकर्ता भने सहभागी भएनन् ।केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच पार्टी एकीकरण भए पनि भक्तपुर जिल्लामा एकीकरण हुन सकेको छैन।

भक्तपुरमा पार्टीको नेतृत्वको लागि दुवै पार्टीका साविक अध्यक्षद्वयले दावी गरिरहेका छन्। नेतृत्वमा सहमति नहुँदा केन्द्रले तोकेको म्याद गुज्रिए पनि भक्तपुरमा पार्टी एकीकरण हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्