काठमाडौंमा ह्वात्तै चिसो बढ्यो, मध्यतराईको जनजीवन कष्टकर बन्दै



यदुप्रसाद भट्ट, काठमाडौं/ कृष्णउदास खनाल, वीरगन्ज ।

गृह मन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७’ लागू भएलगत्तै काठमाडौंमा ह्वात्तै चिसो बढेको छ ।

काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मंगलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

जाडो मौसम शुरु भएसँगै शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्धरुपमा पूर्वतयारीका कार्यक्रम शुरु भएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना संकलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनस्र्थापनका कार्यक्रम तय गरी तयारी थालिसकेको बताएको छ ।

स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अवस्था अध्ययन गरी विवरण संकलन गर्ने, साधनस्रोतको कमी रहेनरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने मार्गदर्शनमा उल्लेख छ । तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा संघीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ । गृह मन्त्रालयले न्याना कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

जाडोमा शीतलहरका कारण बढी प्रभावित हुनेमा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तुलगायत ११ जिल्ला रहेको जनाइएको छ । शीतलहरबाट कम प्रभावित जिल्लामा झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी ११ वटा जिल्ला रहेका छन् । हिमपातका कारण ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुमपूर्व, म्याग्दी गरी २१ जिल्ला बढी प्रभावित रहेका छन् ।

मध्य तराईको पर्सा, बारा र रौतहटमा बाक्लो हुस्सुसँगै शीत लहर शुरु भएको छ । केही दिनदेखि सामान्य हुस्सु लाग्न शुरु भए पनि मंगलबार बिहानबाट भने हुस्सु शुरु भएको हो । हुस्सुसँगै चिसो बढेकाले मध्यतराईको जनजीवन कष्टकर बन्न थालेको छ ।
शीतलहरका कारण हुने चिसोले मध्यतराईमा हरेक वर्ष विपन्न सर्वसाधारणको मृत्यु पनि हुने गरेको छ । यो वर्ष पनि चिसोले कठ्यांग्रिएर रौतहटमा एक जनाको मृत्यु भइसकेको जनाइएको छ ।

चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएका दलित बस्तीका सर्वसाधारण बढी प्रभावित हुने गरेका छन् । शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने बाक्लो कपडाको अभावमा उनीहरु बढी प्रभावित हुने गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो । हुस्सुले घाम छेकेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ । बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम हुँदा अत्यन्त व्यस्त रहने स्थानीय राजमार्गमा सवारीसाधनको चाप कम हुन थालेको छ । राजमार्गमा गुड्ने सवारी दिउँसै लाइट बालेर गुड्न थालेका छन् ।

चिसोले प्रभावित साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका र जेष्ठ व्यक्तिहरुलाई बचाउन पहल गर्ने भनी गएको मंसिर २१ गते आइतबार पर्सामा शीतलहर प्रारम्भिक समितिको बैठक बसिसकेको छ । सो बैठकले एक साताभित्र अति विपन्न र गरिब ज्येष्ठ नागरिक पहिचान गरिसक्ने भनिएको थियो । तर, वास्तविक पीडित हुनेलाई राहतस्वरुप दाउरा, न्यानो कपडा बाँड्ने भनी निर्णय गरिसकेको भए पनि स्थानीय तहहरुको साथ नपाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरणको प्रमुख दायित्व अब स्थानीय सरकारको भए पनि अधिकांश स्थानीय तहहरुमा अझै पनि स्थानीयस्तरको विपद् व्यवस्थापन समितिसमेत गठन नभएको पाइएको छ । समिति गठन भएका स्थानीय तहहरुमा पनि उपयुक्त कार्ययोजनाहरु नहुँदा समस्या हुने गरेको छ । बर्सेनि आइपर्ने मौसमअनुसारको विपद् व्यवस्थापनको पूर्वतयारीमा स्थानीय तहहरुको चासो नजाँदा नागरिकले ज्यानसमेत गुमाउनुपरेका घटनाहरु भएका छन् ।

मंसिर अन्तिम सातादेखि मध्यपूर्वी तराईमा चिसो बढ्न थालेको छ । विगतका वर्षमा पुस लागेपछि मात्रै चिसो हावा चल्ने गरेकामा यसपालि मंसिर अन्तिमदेखि ह्वात्तै चिसो बढेको हो । चिसोले गरिब तथा विपन्नहरुको जनजीवन कष्टकर बन्दै गएको छ । बिहान हुस्सुले ढपक्कै ढाक्दा मध्याह्न मात्र आक्कलझुक्कल घाम देखिने गरेको छ । महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुषारो तथा बाक्लो हुस्सु लाग्ने र सिरेटो चल्ने गरेको छ ।

बदलिएको मौसमले व्यापार व्यवसाय चौपट भएका छन् भने कृषिकार्य पनि प्रभावित भएको छ । बढ्दो जाडोले गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् भने दैनिक ज्यालादारी गरेर गुजारा गर्ने श्रमिक मारमा परेका छन् ।

त्यसै गरी सप्तरीसहित तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । हप्ता दिनदेखि मौसममा परिर्वतन आएर चिसो बढेको हो । प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्यधिक जाडो बढेको स्थानीयले बताएका छन् ।

चिसोबाट बच्ने उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणलाई सूचना प्रकाशित गरी आग्रह गरेको छ । शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खास गरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शीतलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्