राप्तीले जित्यो गौतमबुद्ध कप



नेपाल समाचारपत्र, काठमाडौं । 

राप्ती टिमले चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा नारायणीलाई ९ रनले हराउँदै राप्तीले उपाधि जितेको हो । अपराजित टिम राप्तीले नारायणीलाई लिगमा पनि हराएको थियो । राप्तीले १ सय ४४ रनको लक्ष्य दिएकोमा नारायणी १ सय ३४ रनमै सीमित भएको थियो । राप्तीका बलरमा अविनाश बोहोराले ३ विकेट, भुवन कार्कीले २ विकेट र जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान एक–एक विकेट लिएका थिए ।

राप्तीका बलरहरूले राम्रो बलिङ गर्दा नारायणीका ब्याटसम्यानहरूले रन बटुल्न असफल भएका थिए । टिमका लागि आरिफ शेखले उल्लेखनीय ४८ रनको योगदान दिनुबाहेक अन्य खेलाडी टिक्नै सकेनन् । आरिफले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । यद्यपि, टिमका लागि ऋत गौतम र ईशान पाण्डेले २७/२७ रन जोडे पनि त्यो जितको लागि पर्याप्त भएन । अन्य बाँकी खेलाडी राप्तीका बलरसामु कमजोर बनेका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । टिमका लागि कुशल भूर्तेलले सर्वाधिक ४२ रन जोडे । त्यस्तै, विनोद भण्डारीले ३३ रनको योगदान दिँदा सुमित महर्जनले २२ रन बनाएका थिए । यस्तै, अमित श्रेष्ठले १८ र शरद भेषवाकरले १० रन जोडेका थिए । नारायणीको बलिङतर्फ साहब आलमले सार्वाधिक ३ विकेट लिए । सुशन भारीले दुई विकेट र करन केसीले एक–एक विकेट हासिल गरेका थिए ।

प्रतियोगितामा राप्तीका अभिनास बोहरा उत्कृष्ट खेलाडी घोषित भए । उनले कुल ३ खेलमा सर्वाधिक ७ विकेट लिएका थिए । उनले उत्कृष्ट भएबापत ४५ हजार नगद पुरस्कार पनि प्राप्त गरे । यस्तै, राप्तीका ब्याटसम्यान कुशल भूर्तेल प्रतियोगिताका उत्कृष्ट ब्याटसम्यान घोषित भए । उनले १ अर्धशतकसहित ३ खेलमा कुल १ सय १० रन बटुलेका थिए ।

प्रतियोगिताका उत्कृष्ट बलर भने नारायणीका करण केसी भए । उनले ३ खेलमा ५ विकेट लिएका थिए । कुशल र करणले २५/२५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगिताका उदीयमान खेलाडी नारायणीका साहब आलम घोषित भएका थिए । उनी ३ खेलबाट ७ विकेट लिँँदै उत्कृष्ट बनेपछि १५ हजार नगद पुरस्कारको पनि हकदार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्