विष्टको पेनाल्टी नै निर्णायक



हेटौंडा, (नेस) ।

मनहरी गाउँपालिकामा जारी तेस्रो मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा मनहरीको ४ नम्बर वडा सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार अन्तिम क्वार्टरफाइनलमा १ नम्बर वडालाई १–० गोलअन्तरले हराउँदै वडा–४ सेमिफाइनल प्रवेश गरेको हो । ४ नम्बर वडाका लागि उज्ज्वल विष्टले पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्यो ।

१ नम्बर वडाका खेलाडीले डी–बक्स क्षेत्रमा ह्यान्ड गरेपछि वडा–४ ले पेनाल्टी पाएको थियो । विष्टले पाएको अवसर सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए । खेलमा ४ नम्बर वडाका विवेक प्रजा ‘म्यान अफ दी म्याच’ बने । यससँगै मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।

बुधबारबाट सेमिफाइनल चरणका खेल हुनेछन् । फाइनल प्रवेशका लागि बुधबार ३ नम्बर वडाले २ नम्बर वडासँग खेल्नेछ भने बिहीबार ४ ले ७ नम्बर वडासँग खेल्नेछ । फाइनल खेल ४ गते शनिबार हुनेछ ।

मनहरी गाउँपालिकाका ९ वटा वडाका ९ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्