‘पुनर्निर्माणको काम ९२ प्रतिशत सम्पन्न’



नेपाल समाचारपत्र, पाल्पा ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ सालको भूकम्पले क्षति पुगेका संरचनामध्ये हालसम्म ९२ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भइसकेको र बँँकी काम पनि छिट्टै पूरा हुने बताउनुभएको छ ।

रामपुर नगरपालिका–७ स्थित आधारभूत माविमा बन्न लागेको नौ कोठे पक्की भवनको सोमबार शिलन्यास गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पछिल्लो समयमा भूकम्पले क्षति पु¥याएको भौतिक संरचना तीव्र गतिमा पुनर्निर्माण भइरहेको बताउनुभयो । उहाँले पुनर्निर्माण गर्नुपर्ने आठ लाख निजी घरमध्ये करिब ७६ प्रतिशत, विद्यालयतर्फ ८० प्रतिशत, स्वास्थ्यतर्फ ५८ प्रतिशत, सरकारी भवनतर्फ ९० प्रतिशत र पुरातात्विक सम्पदातर्फ ५० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो ।

पाल्पामा अहिले छोटो समयमा एकैपटक विभिन्न भौतिक संरचना निर्माणको काम भइरहेको बताउँदै उहाँले अब निजी आवासका घरलाई सम्पन्न गर्नेतर्र्फ प्राधिकरणको ध्यान गइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य युवराज खनालले शैक्षिक गुणस्तर वृद्धि गरी व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरभित्र भूकम्पबाट प्रभावित भएका विभिन्न विद्यालयमा पुनर्निर्माणको काम भइरहेको जानकारी दिँदै भौतिक संरचनाको साथमा शैक्षिक गुणस्तर वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । साउदी फन्ड फर डेभलपमेन्ट प्रोेजेक्टद्वारा दुई करोड नौ लाख २३ हजार नौ सय छ रुपियाँ सहयोगमा निर्माण कार्य शुरु भएको भवन २०७८ साल माघ १९ गतेभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्