अबको काम विकास निर्माणमा केन्द्रित : मन्त्री श्रेष्ठ



नेपाल समाचारपत्र, काठमाडौं ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । मन्त्रालयमा कार्यभार सम्हाल्नुभएको दुई महिनाको समीक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रित रहने बताउनुभएको छ ।

समीक्षा बैठकपछि मन्त्रालय मातहतका सबै निकाय र आयोजना प्रमुखसँग दुई महिनाभित्र सम्पादन गर्ने कामको लिखित कार्ययोजनासहित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी अबको कामको शुरुआत गर्नुभएका मन्त्री श्रेष्ठले विकास निर्माणको कार्यलाई नमुनाका रुपमा अघि बढाउने बताउनुभयो ।

मन्त्रीको कार्यभार सम्हालेपछि आफूले अनुगमन गरेका सबै विकास निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘माघ मसान्तसम्म गोदावरीको हल निर्माण सम्पन्न हुनेछ, धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ ।’

उहाँले दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको बेडसहितको कोभिड संक्रमितको उपचार व्यवस्था गर्न लागिएको बताउनुभयो । मन्त्रीको कार्यभार सम्हालेको भोलिपल्ट मन्त्री श्रेष्ठ वीर अस्पताल पुग्नुभएको थियो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८ बँुदे कार्ययोजना र भावी कार्यक्रमलाई लागू गराएरै छाड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘मन्त्रालयले अब योजनाअनुसारका सबै काम तोकिएकै समयमा पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’ उहाँले गोदाबरीको ३ सय क्षमताको हल माघ मसान्तसम्म पूरा हुने विश्वास दिलाउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले दुई महिनाको अवधिमा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पन्न भएका र आगामी दुई महिनाभित्र सम्पन्न गर्ने मु्ख्यमुख्य कार्यबारे जानकारी दिनुभएको थियो ।

दुई महिना अवधिमा मन्त्रालयले बन्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने, उपत्यकालगायत देशभरका नगरपालिकाहरुको फोहोरमैलाको आधुनिक प्रविधि अवलम्बन गरेर व्यवस्थापन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेस गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३ हजार २ सय ५५ फुसको छाना विस्थापित गरी जस्तापाताले छाना छाउने कार्य सम्पन्न भएको उल्लेख छ ।

त्यसै गरी आगामी २ महिनाभित्र ३७ हजार ५ सय लाभग्राहीहरु छनोट गर्ने कार्य सम्पन्न गरिने, सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन, ललितपुर भैंसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालयको निर्माण कार्यलाई लक्ष्यअनुरुप समयमै सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइने, प्रधानमन्त्री निवास परिसरमा एमआई सत्र हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलीप्याड तयार भई सञ्चालनमा रहेको प्रगति उल्लेख गरिएको छ ।

त्यस्तै दुई महिनाभित्र बूढानीलकण्ठमा निर्माणाधीन कालिका पार्क, नौलिन भद्रकाली, जगन्नाथ र भूकम्प स्मृति पार्कको निर्माण कार्य सम्पन्न गरिने, दुई महिनाभित्र ललितपुरको गणशेमान पार्क, देवीस्थान पार्क, फ्रेन्डस कोलोनी पार्क, नागदह पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

देशको गौरवका रुपमा निर्माणाधीन सय मिटर उचाइको दमक भ्यु टावरको निर्माणलाई तीव्रता दिने, मोरङको उर्लाबारीको लोपोन्मुख सन्थाल जातिको एकीकृत बस्ती विकास कार्यक्रमको कार्ययोजना तयार गरी निर्माण प्रक्रिया अघि बढाइने, देशभित्रका स्वास्थ्य भवनअन्तर्गतका थप १० वटा रुग्ण आयोजनाहरुको व्यवस्थापन गरिने, शहरी सडक मापदण्ड लागू गराउने, शहरी सडकहरुमा समेत साइकल लेन व्यवस्थापन गर्नका लागि गठित प्राविधिक टोलीका सुझावलाई कार्यान्वयनमा ल्याइने विषय कार्ययोजनामा उल्लेख छ ।

कार्ययोजनामा २०७२ सालको विनाशकारी भूकम्पको क्षतिलाई मध्यनजर गरी भूकम्पप्रतिरोधी भवनहरुको निर्माण गर्न भवन संहिता १०५ (एनबीसी)लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको छ । उक्त संहितालाई थप सरलीकरण गरी कार्यान्वयनलाई प्रभावकारी बनाइने उल्लेख छ ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयले सार्वजनिक गरेको यो योजना हचुवाको नभई व्यापक छलफल गरेर तयारी गरेको बताउनुभयो । सचिव डा. सिंहले सबै योजनालाई कार्यान्वयन गर्न कडाइका साथ अनुगमन गरिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्