सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र



लहान।

गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ ।

अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रोडक्ट र लहान नगरपालिका–३ स्थित स्टार चिप्स उद्योगविरुद्ध मुद्दा चलाएको हो । तीनवटै उद्योगविरुद्ध खाद्य ऐन, २०२३ अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहामा मुद्दा चलाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

यसैबीच बजारमा कालोबजारी बढेको जनगुनासोपछि सिरहामा खाद्यान्न उद्योग र पसलको संयुक्त अनुगमन शुरु गरिएको छ । कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न, सरल र सहजरूपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले सिरहाको प्रमुख बजारमा रहेको खाद्यान्न तथा मिठाइ पसलको अनुगमन शुरु गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा सदरमुकाम सिरहा, लहान, मिर्चैया, गोलबजारलगायतका बजारमा थालिएको अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, पञ्जालगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उहाँले जानकारी दिनुभयो ।

पाँच शय्याको कोभिड अस्पताल स्थापना

सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको तीन महिनाको प्रयासमा कोभिड अस्पताल स्थापना भएकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताउनुभयो ।

स्थापना गरिएको कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत डा राकेश यादवसहित दुई स्टाफ नर्स र एक अस्पताल रेखदेख गर्ने पालेलाई नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्