फलफूलखेती अनुगमनमा परियोजना



नेपाल समाचारपत्र, जाजरकोट  ।

किसानलाई फलफूलखेतीबाट आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटले किसानको खेतबारी अनुगमनलाई तीव्रता दिएको छ । आधुनिक कृषि प्रविधिबाट आय–आर्जन वृद्धि गर्न परियोजना सञ्चालन गरिएको पालिकामा कृषि शाखाका प्रमुखसँगको सहकार्यमा परियोजनाले अनुगमन गर्दै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला मौरी जोन जाजरकोटले सम्भाव्यता अध्ययन गरी नर्सरी स्थापनाका लागि किसानको खेतबारी अवलोकन गर्ने गरेको छ । व्यावसायिक किसानलाई फलफूल नर्सरी स्थापनाका लागि परियोजना सञ्चालन भएका पालिकाका किसानलाई व्यावसायिक बनाउन प्रस्ताव आह्वान गरेको थियो । कार्यालयबाटै कार्यक्रम दिए प्रभावकारी नहुने भएपछि खेतबारी अवलोकन भेटघाट कार्यक्रम गरी वितरण गर्ने निर्णय गरेकाले प्रस्ताव पेस गरेका किसानको व्यवसाय अनुगमन गर्दै आएको परियोजनाले जनाएको छ ।

अनुगमन मूल्यांकन गरी सञ्चालन गरेको कार्यक्रम प्रभावकारी हुने भएकाले छेडागाड नगरपालिकाअन्तर्गत कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन सुन्तला मौरी जोन जाजरकोटले छेडागाड नगरपालिका–११ झाप्राका किसान गगन बुढा र कृष्णबहादुर बुढाको नर्सरी अवलोकन गरेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले वताउनुभयो ।

व्यवसाय दर्ता गरी फलफूलखेती गर्दैै आएका इच्छुक कृषिकलाई थप ऊर्जा दिन प्रस्ताव आह्वान गरेको थियो । परियोजनाले आह्वान गरेको प्रस्तावमा २५ जना कृषकले कार्यक्रम मागका लागि प्रस्ताव पेस गरेकाले व्यवसाय अवलोकन गरी कार्यक्रम दिने निर्णय गरेपछि पालिकासँगको समन्वयमा किसानको खेतीबारीमा पुग्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटका प्रमुख पिताम्बर बस्नेत बताउनुहुन्छ ।

जाजरकोटमा कागती र सुन्तला राम्रो हुने भएकाले यसमा किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्न गागिएको प्रमुख बस्नेतको भनाइ छ ।

यातायातको सहज पहुँच नभएकाले उत्पादन भएको फलफूल सहजरूपमा बजारसम्म लैजान नसकेको कृषक कृष्णबहादु बुढाको कथन छ । हाल पिठ्युँमा बोकेर घण्टौं हिँडी खलंगा, थलह, मोर्कलगायतका बजारमा फलफूल बिक्री–वितरण गर्ने गरेको उहाँको भन्नुहुन्छ । यस क्षेत्रमा उत्पादन भएका वस्तुले बजार नपाउँदा खेतबारीमै सड्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्