ठोरीको सीता गुफामा सीताराम विवाह उत्सव



वीरगन्ज, (नेस) ।

पर्साको ठोरी गाउँपालिकामा रहेको सीता गुफामा विवाह पञ्चमीका दिन सीताराम विवाह उत्सव गर्ने तयारी गरिएको छ । रामजन्मभूमि क्षेत्र विकास समिति तथा सीता गुफा पूजा समितिको आयोजनामा पुस ४ गते शनिबार विवाह महोत्सव गरिने भएको हो ।

सीता गुफा परिसरमा रुद्राभिषेक, हवनसहित भव्यरूपमा विवाह उत्सव मनाइने पूजा समितिले जनाएको छ । विगत केही वर्षदेखि सीता गुफामा विवाह पञ्चमीको अवसरमा र राम नवमीको दिन धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म ठोरीमै भएको अभिव्यक्ति दिएसँगै ठोरीवासीले विभिन्न धार्मिक कार्यक्रम गर्दै आएका छन् । उक्त अभिव्यक्ति दिएसँगै ठोरीमा पर्यटकको आगमनमा पनि वृद्धि आएको स्थानीय बताउँछन् ।

उक्त अभिव्यक्तिलाई प्रमाणित गर्न विभिन्न प्रमाणिक तर्कहरु पनि प्रस्तुत हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्