कर्मचारीमा कोरोना, जिल्ला अस्पताल सिल



डोटी, (नेस) । 

अछाममा रहेको जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अनिश्चित्कालका लागि उक्त अस्पताल सिल गरिएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । अस्पताल सिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि समस्या भएको स्थानीयबासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले जानकारी दिनुभयो ।

‘अस्पतलमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छौं’, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज विष्टले भन्नुभयो– ‘कोरोना अरू व्यक्तिमा नसरोस् भनेर सिल गरिएको हो, जोखिम हटेलगत्तै सबै सेवा सुचारु गर्नेछौं ।’ उहाँका अनुसार संक्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्