सुआहारा कार्यक्रमको वार्षिक कार्ययोजनाबारे अभिमुखीकरण



प्रताप बानियाँ, म्याग्दी ।

युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा सुरु अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । पहिलो अर्धवार्षिक कर्मचारी वैठक तथा वार्षिक कार्ययोजनाको विषयमा अभिमुखीकरण सञ्चालन गरिएको हो ।

दुई दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रममा पालिकास्तरीय पोषण, सरसफाई, स्वास्थ्य र कृषिको पुनरावलोकन, म्याग्दी जिल्लासहित स्थानीय तहको पोषण तथा स्वास्थ्यको अवस्थाबारे सहजीकरण गरिएको थियो । यसैगरी पोषण, स्वास्थ्य र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सरसफाई, घरायसी खाद्यान्न उत्पादन, स्थानीय सुशासन र कार्ययोजना निर्माणका विषयहरुमा सहजीकरण गरिएको सुआहारा कार्यक्रमले जनाएको छ ।

कार्यक्रमको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, स्वास्थ्य तथा पोषण अधिकृत रुवी जोशी, वास अधिकृत टिका उप्रेती, घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत साक्षी पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा मिलन म्याग्दीका पदाधिकारी, कर्मचारी तथा सुआहारा कार्यक्रमको पालिकास्तरीय तथा सामुदायिक पोषण सहजकर्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले खाद्यसुरक्षा, पोषण, स्वास्थ्य र सरसफाइमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए । मिलन म्याग्दीका संस्थापक सदस्य अमर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक दिवाकुमारी पुन, सुआहारा कार्यक्रमका संयोजक राजेन्द्र अधिकारी र मालिका गाउँपालिकास्तरीय पोषण सहजकर्ता सुमित्रा गैरे (पौडेल)ले मन्तव्य राखेका थिएभने फिल्ड संयोजक बालकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्