तराईमा शुरु भयो शीतलहर



कृष्णउदास खनाल,वीरगन्ज ।

मध्य तराईको पर्सा, बारा र रौतहटमा बाक्लो हुस्सुसँगै शीत लहर शुरु भएको छ । केही दिनदेखि सामान्य हुस्सु लाग्न सुरु भए पनि मंगलबार बिहानबाट भने हुस्सु शुरु भएको हो । हुस्सुसँगै चिसो बढेकाले मध्य तराईको जनजीवन कष्टकर बन्न थालेको छ। शीतलहरका कारण हुने चिसोले मध्य तराईमा हरेक वर्ष विपन्न सर्वसाधारणको मृत्यु पनि हुने गरेको छ। यो वर्ष पनि चिसोले कठ्यांग्रिएर रौतहटमा एकजनाको मृत्यु भइसकेको जनाइएको छ ।

चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएका दलित बस्तीका सर्वसाधारण बढी प्रभावित हुने गरेका छन्। शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने बाक्लो कपडाको अभावमा उनीहरु बढी प्रभावित हुने गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो । हुस्सुले घाम छेकेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ।

बाक्लो हुस्सु लागेर भिजिविलिटी कम हुँदा अत्यन्त व्यस्त रहने स्थानीय राजमार्गमा सवारी साधनको चाप कम हुन थालेको छ। राजमार्गमा गुड्ने सवारी दिउँसै लाइट बालेर गुड्न थालेका छन्।चिसोले प्रभावित साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका र जेष्ठ व्यक्तिहरुलाई बचाउन पहल गर्ने भनी गएको मंसिर २१ गते आइतबार पर्सामा शीतलहर प्रारम्भिक समितिको बैठक बसिसकेको छ।

सो बैठकले एक साताभित्र अति विपन्न र गरिब ज्येष्ठ नागरिक पहिचान गरिसक्ने भनिएको थियो। तर, वास्तविक पीडित हुनेलाई राहत स्वरुप दाउरा, न्यानो कपडा बाढ्ने भनी निर्णय गरिसकेको भए पनि स्थानीय तहहरुको साथ नपाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

स्थानीय तहका बिपत ब्यवस्थापन समिति निस्कृय

विपद जोखिम न्यूनिकरणको प्रमुख दायित्व अब स्थानीय सरकारको भएपनि अधिकांश स्थानीय तहहरुमा अझैपनि स्थानीय स्तरको विपद व्यावस्थापन समिति समेत गठन नभएको पाईएको छ । समिति गठन भएका स्थानीय तहहहरुमा पनि उपयुक्त कार्ययोजनाहरु नहुँदा समस्या हुने गरेको छ ।

बर्सेनि आईपर्ने मौसम अनुसारको विपद व्यावस्थापनको पूर्व तयारीमा स्थानीय तहहरुको चासो नजाँदा नागरिकले ज्यान समेत गुमाउनु परेका घटनाहरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्