इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य ‘डिप्लोम्याट अफ दी इयर २०२०’



न्युज अफ नेपाल, काठमाडौँ ।

इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य डिप्लोम्याट आफ दी इयर २०२० अवार्डबाट सम्मानित हुनुभएको छ। एम्बेस्डरर्स क्लब अफ इजरायलले एक कार्यक्रमको आयोजना गरी शाक्यलाई सम्मान गरेको हो । अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन । ईजरायली संस्था एम्बेस्डरर्स क्लब अफ इजरायल का अध्यक्ष इज्याक यल्डान र ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख गिल हस्केलले संयुक्त रुपमा राजदूत डा. शाक्यलाई अवार्ड प्रदान गर्नुभएको थियो । आफ्नो जुझारुपनका कारण राजदूत डा. शाक्यले ईजरायल आएको छोटो समयमै नेपाललाई ईजरायलमा राम्रो बनाउन सफल भएकोले वर्ष राजदूत अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ।

अवार्ड वितरण कार्यक्रममा ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख गिल हस्केल, मन्त्रालयकै एशिया प्रशान्त डिभिजनका उपप्रमुख राजदूत माइकल रोनेन, ईजरायलका लागि म्यानमारका राजदूत एच. ई. माउंग माउंग लिन, क्लबका उपाध्यक्ष, निर्देशकहरूको बोर्ड, सीईओ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा परराष्ट्र मन्त्रालयको एशिया प्रशान्त डिभिजनका उपप्रमुख राजदूत माइकल रोनेन ले ईजरायली परराष्ट्र मन्त्री एच. ई. अश्कनाजी को बधाई सन्देश बाचन गरेर सुनाउनुभएको थियो साथै नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले नेपालको परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको बधाई सन्देश बाचन गर्नुभएको थियो। यसका अतिरिक्त नेपालका लागि ईजरायली राजदूत एच. ई. हानान गोडर को लिखित बधाई सन्देश बाचन गरिनुका साथै ईजरायलका लागि थाई राजदूत एच. ई. पन्नभा चन्द्रराम्या, ईजरायली चर्चित गायिका गली अतारी, ईजरायली आर्किटेक्ट ईन्जिनियर डा. एडा गान्साच र ईजरायलमा अध्ययनरत नेपाली सबिता देशेमारूको भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो।

सम्मानित भएलगत्तै आफ्नो मन्तव्यमा महामहिम राजदूत डा. शाक्यले एम्बेसेडर क्लब इराइका पदाधिकारी लगायत आफूलाई विभिन्न हिसावले सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै अवार्ड आफ्नो मात्रै नभएर सम्पूर्ण नेपालीहरुको गौरवको विषय भएको बताउनुभएको थियो। साथै वहाँले अवार्डले आफूमा जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा नेपाल र ईजरायलको सम्बन्धलाई थप प्रगाढ तुल्याउन अझै मिहिनेतका साथ काम गर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा महामहिमज राजदुत डा। शाक्यले हिब्रु भाषाको नेपाल सम्बन्धी चर्चित गीत समेत प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्