च्याम्पियन्स लिगको अन्तिम १६ ‘ड्र’ सार्वजनिक



ज्युरिच, एजेन्सी  । 

युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ‘ड्र’ घोषणा भएको छ ।

सोमबार स्विट्जरल्यान्डको नियोन शहरस्थित यूईएफएको केन्द्रीय कार्यालयमा उक्त ‘ड्र’ सार्वजनिक गरिएको हो । जारी भएको उक्त ‘ड्र’ अनुसार च्याम्पियन्स लिगको डिफेन्डिंग च्याम्पियन बायर्न म्युनिखले इटालियन सिरी ए क्लब लाजियोको सामना गर्ने भएको छ । यसअघि, बायर्न र लाजियो दुवै समूह चरणमा अपराजित रहेका थिए ।

त्यस्तै, स्पेनिस महारथी बार्सिलोनाले भने गत संस्करणको उपविजेता फ्रेन्च क्लब पिएसजीलाई अन्तिम १६ मा प्रतिद्वन्द्वी पाएको छ । त्यसैगरी, अर्का स्पेनिस क्लब रियल मेड्रिड र इटालियन टोली एटलान्टाले क्वार्टरफाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ । त्यस्तै, प्रिमियर लिग क्लब लिभरपुलले गत सिजन सेमिफाइनल पुगेको आरबी लाइप्जिगसँग खेल्नेछ । फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीले ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको सामना गर्नेछ ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डले युरोपा लिगको साबिक विजेता सेभियासँग खेल्नेछ । इटालियन च्याम्पियन युभेन्टस्ले पोर्चुगिज क्लब एफसी पोर्टाेसँग खेल्नेछ । प्री–क्वार्टरफाइनल खेलहरू फेबु्रअरीको तेस्रो सातादेखि शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्