राप्तीको लगातार दोस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं । 

चितवनमा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा राप्ती टिमले लगातार दोस्रो जित हात पारेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा राप्तीले नारायणी टिमलाई १ विकेटले हराएको हो । टिमलाई जित दिलाउन कुशल भूर्तेल र कमल सिंह ऐरीले सानदार ब्याटिङ गरेका थिए । १ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा राप्तीले ९ विकेट गुमाएर १ बल बाँकि राखी रोमाञ्चक जित हासिल गर्‍यो ।

राप्तीको ९ विकेट गुमेको अवस्थामा नारायणी जितको निकट थियो । जितको लागि नारायणीले मात्र एक विकेट लिनु थियो । उता राप्तीको लागि १९ रन आवश्यक थियो । तर, कमल सिंहले १९औं ओभरमा करण केसीको बलिङमा १ छक्का र २ चौका हान्दै १५ रन बटुलेर राप्तीको जित सहज बनाए ।

त्यसो त अन्तिम ओभरको तेस्रो बलमा दीपेश श्रेष्ठले सूर्य तामाङलाई आउट गरेका थिए । तर, त्यो नो बल घोषित हुँदा नारायणी जितबाट वञ्चित भयो । राप्तीको लागि भने राहत बन्यो । योसँगै राप्तीले लिगका दुवै खेल जित्यो भने नारायणीको पहिलो हार भयो । यी दुवै टिमले आज उपाधिका लागि खेल्नेछन् ।

राप्तीका लागि बलर कमल सिंह २४ रनमा नटआउट रहे । यसअघि, ओपनर कुशलले ४१ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ६५ रन जोडेका थिए । उनले ३७ बलमै अर्धशतक पूरा गरेका थिए । अन्य ब्याटसम्यानले भने खासै रन जोड्न सकेनन् । नारायणीका बलरमा करणले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, किशोर महतोले २ विकेट लिँदा सुसन भारीले २ तथा साहब आलम र दीपेशले १/१ विकेट हासिल गरेका थिए ।

यसअघि, टस जितेर पहिला ब्याटिङमा उत्रेको नारायणीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३८ रनको योगफल बनाएको थियो । टिमका कप्तान करण केसीले सर्वाधिक ३२ रनको योगदान दिएका थिए । अन्यमा किशोर ३६ रनमा नटआउट रहेका थिए । किशोर र करणले सानदार ५९ रनको साझेदारी गरेर ७ विकेटको क्षतिमा ७९ रनको कमजोर स्थितिमा रहेको टिमलाई १ सय ३८ रनको बलियो स्कोरमा पुर्‍याएका थिए । राप्तीका बलरमा सूर्य र अविनाश बोहराले २/२ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्