निगमको १० वर्षे व्यावसायिक योजना, तीन वर्षपछि फाइदा



काठमाडौं, (नेस) । 

नेपाल वायुसेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना तयार गरेको छ । निगमले सो योजना सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष पेश गरेको छ ।

घाटामा रहेको निगमलाई व्यावसायिकरुपमा सफल बनाउनुपर्ने सन् २०२१ देखि २०३० सम्मको व्यावसायिक योजना तयार पारेको हो ।
सो योजनामा निगम शुरुका तीन वर्ष नोक्सानै रहने भए पनि सन् २०२४ बाट नाफामा जाने र २०३० मा ५ अर्ब ३० करोड नाफा हुने प्रक्षेपण गरिएको छ । योजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

निगमले सो योजनाअनुसार २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, सांघाई, इन्डोनेसिया, रियादलगायत आठ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारो बडी चार र वाइड बडी दुई गरी छ वटा जहाज आवश्यक पर्ने जनाएको छ । त्यस्तै आन्तरिक उडानतर्फको सुधारका लागि पनि काठमाडौं, नेपालगन्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सरकारको १५औं पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो व्यावसायिक योजना तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्