कांगेसको चौथो संघर्ष



विजय नेपाली, पोखरा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारको कदमका कारण कांग्रेसले चौथोपटक संघर्ष गर्न बाध्य भएको बताउनुभएको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा पोखरामा सरकारविरुद्ध गरिएको विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले उक्त कुरा बताउनुभएको हो ।

‘हिजो राणा शासनका विरुद्धमा संघर्षको जन्जिर बनेर विरोध गर्‍यौँ । हरेक निरंकुशताका विरुद्धमा हामीले नेतृत्व गरेका छौं । चाहे त्यो २००७ सालको आन्दोलन होस् । चाहे ०४७ साल होस् या ०६२/०६३ सालको जनआन्दोलन किन नहोस्, संघर्षको नेतृत्व कांग्रेले गरेको छ । पहिलो दोस्रो र तेस्रो संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको छ’, उहाँ भन्नुहुन्छ– ‘आज हामी कहाँ चुकेका छौं ? के कमजोरी भयो, त्यसको विश्लेषण गर्दै नयाँ तरिकाले अघि बढ्नुपर्ने अवस्था कांग्रेसको आएको छ ।’

‘लोकतन्त्रको जामा र खोल ओढेर संविधानको खोस्टोमा बसेर एक दलीय रूपले निरंकुशतातर्फ कम्युनिस्ट साथिहरु जानुभएको छ । जसले गर्दा नयाँ संघर्षका थलानी गर्न परेको छ ।’ –केसीको आरोप छ । स्वाभिमान र सम्मानबिनाको लोकतन्त्र लोकतन्त्र नहुने भन्दै आफ्नो स्वाभिमान र सम्मानयुक्त लोकतन्त्रका लागि संघर्ष गर्न लागेको उहाँको कथन छ । अहिलेको सरकारले भ्रष्टचारको सीमा नाघिसकेको उहाँको भनाइ छ ।

सोही क्रममा बोल्दै पूर्वकानुनमन्त्री यज्ञबहादुर थापाले कांग्रेसलाई कमजोर सोच्नु कम्युनिस्ट सरकारको ठूलो गल्ती भएको भन्दै अब कांग्रेस जागेको बताउनुभयो । त्यस्तै सभालाई सम्बोधन गर्दै पूर्वसभामुख तारानाथ रानाभाटले भ्रष्टाचारमा लिप्त सरकारले जनमतको सही सदुपायोग नगरेको धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्