लिभरपुल र फुलह्यामको बराबरी



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलह्यामले बराबरीमा खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति भएको लिगको १२औं साताको खेलमा लिभरपुल फुलह्यामको घरेलु मैदानमा हारनजिक पुगेर पेनाल्टी गोलको मद्दतमा १–१ को बराबरी गर्न सफल भएको हो । फुलह्यामसँग हारबाट बच्न लिभरपुललाई ७९औं मिनेटमा पेनाल्टी गोलको सहारा लिनुपरेको थियो । आफ्नै घरमा फुलह्यामका लागि खेलको २५औं मिनेटमा बबी रेइडले सुन्दर गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

फुलह्यामले सोही १ गोलको अग्रता ७८औं मिनेटसम्म जोगाएर लिभरपुललाई दबाब दिएका थिए । तर, खेलको ७९औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो । डीबक्समा घरेलु टोलीका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले लिभरपुलाई पेनाल्टी दिए । जसमा मोहमद सलाहले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको बाँकि समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल १–१ को बराबरीमा सकियो । यो बराबरीपछि लिभरपुलले अंक तालिकामा १२ खेलबाट २५ अंक बनाएको छ । यता, लिभरपुललाई बराबरीमा रोकेको फुलह्यामले १२ खेलबाट ८ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्