स्वरोजगार बन्न आवेदन दिएका कोरोनापीडित भारततिर



राम धामी, डडेल्धुरा ।

स्वरोजगारमूलक कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा आवेदन दिएका युवाहरु धमाधम भारत फर्किन थालेका छन् । कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकलाई स्वरोजगार बनाउन सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न रोजगारीमूलक कार्यक्रम घोषणा गरी आवेदन माग गरेको थियो ।

चैत ११ यता मात्रै सुदूरपश्चिमका विभिन्न नाका हुँदै हालसम्म २ लाख २९ हजार १ सय ७० जना स्वदेश भित्रिएका छन् भने यही अवधिमा १ लाख ३७ हजार ७ सय १४ जना भारत प्रवेश गरेका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकअनुसार त्रिनगर नाका हुँदै सबैभन्दा बढी १ लाख १० हजार ३ सय ८०, गड्डाचौकी नाका हुँदै २६ हजार ४ सय ५२, दार्चुलाको पुलघाट हुँदै ८ सय ३८ र बैतडीको झुलाघाट हुँदै ४४ जना भारत पसेका छन् ।

लकडाउन खुकुलो भएपश्चात् सुदूरपश्चिमका त्रिनगर र गड्डाचौकी नाका हुँदै गत साउनयता मात्रै १ लाख १६ हजार ५ सय ७१ जना भारत गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो । प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको तथ्यांकअनुसार २३ हजार ५ सय ८८ महिला, ७९ हजार ९ सय ३७ पुरुष र १३ हजार ४६ बालबालिका गरी १ लाख १६ हजार ५ सय ७१ जना भारत गएका छन् । यही अवधिमा ८२ हजार २ सय ७८ जना भारतबाट नेपाल फर्किएको प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकमा उल्लेख छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएकालाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न रोजगारीमूलक कार्यक्रम घोषणा गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा स्वरोजगारीका लागि आवेदन दिएका अधिकांश सर्वसाधारण पुनः भारत फर्किन थालेका हुन् । ‘सस्तो लोकप्रियताका लागि घोषित कार्यक्रम कार्यान्वयनमा अहिले चुनौती भयो’, भारत जाँदै गरेका परशुराम नगरपालिकाका इन्द्रसिंह भाटले भन्नुभयो– ‘स्वदेशमै रोजगारी पाइन्छ भन्ने आशा जागेको थियो, तर अन्ततः भारत नै जानुप¥यो ।’

स्वदेशमा रोजगारीका अवसरहरू नहुँदा नै आफूहरू बाध्य भएर भारत जानुपरेको डडेल्धुराको अमरगढी नगरपालिका–५ का प्रकाश जैरुले गुनासो गर्नुभयो । कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकका लागि जनअपेक्षाअनुसारका कार्यक्रम ल्याएको दाबी गर्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले ती कार्यक्रम हाल कार्यान्वयनको चरणमै रहेको दाबी गरेको छ । ‘प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोनाले रोजगारी गुमाएकाका लागि १५ करोड बजेटको कार्यक्रम तयार गरेको छ । हामीले यसका लागि आवेदन खोल्दा ८० हजार आवेदन परे’, मन्त्रालयका सूचना अधिकारी गोकुलप्रसाद बोहराले भन्न्ुभयो– ‘अहिले छनोट प्रक्रिया चलिरहेको छ ।’

‘एकै जनाले फरक–फरक जिल्लाबाट पनि आवेदन दिएको फेला प¥यो’, मन्त्रालयका प्रवक्ता डा. हेमराज अवस्थीले भन्नुभयो– ‘हामीले असोज महिनामा २१ दिने आवेदन खोल्दा झन्डै ७० हजार पशुपालनतर्फ र करिब १० हजार खेतीपातीका लागि आवेदन परे । तर त्यसमा हामीले एकै जनाले फरक–फरक जिल्लाबाट पनि आवेदन दिएको पायौं ।’ त्यसपछि मापदण्ड बनाएर छनोटको काम भइरहेको प्रदेश सरकारले जनाएको छ ।

त्यति मात्रै हैन, सुदूरपश्चिम प्रदेश सरकारले स्वरोजगार कोष नै खडा गरेर प्रदेशवासीलाई रोजगारी दिने दाबी गरिरहेको छ । तर पहिलो चौमासिक बित्दा पनि कार्यान्वयनमा भने आउन सकेको छैन । ‘सरकारले कोरोना प्रभावितलाई अवसर दिन्छौं भन्दा निकै आस लागेको थियो’, परशुराम नगरपालिका–७ साँदनीका जनकराज जोशीले भन्नुभयो– ‘मन्त्रालयले आवेदन खोल्दा मैले पनि फारम भरें, तर पछि आवेदन बढी भएको भन्दै फेरि प्रस्तावना माग गरियो, मैले पशुपालन गर्ने आफ्नो योजनासहित फेरि प्रस्तावना पेस गरें, तर अहिलेसम्म अवसर पाइएन, त्यसैले बाध्य भएर भारत जाँदै छु ।’

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारी पीडित नागरिकका लागि ल्याएको स्वरोजगार कार्यक्रममा आवेदन फाराम भरेका अधिकांश युवाहरु कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा भारत फर्किएको परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशवबहादुर बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्