सरकारविरुद्ध देशभर कांग्रेसको प्रदर्शन

निर्वाचनपछि पहिलो पटक सडकमा



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले देशव्यापीरुपमा सोमबार शक्ति प्रदर्शन गरेको हो । निर्वाचनपछि सरकारविरुद्धमा गरिएको यो पहिलो शक्ति प्रदर्शन बन्न पुगेको छ । देशका मुख्य शहरमा एकसाथ कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ । मुख्य शहरमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीले सम्बोधन गर्नुका साथै जिल्ला–जिल्लामा पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरुले सम्बोधन गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकप्रियता जाँच्नका लागि देशभर गरिएको शक्ति प्रदर्शन सफल भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । गत मंसिर १७ गते तनहुँमा नेता रामचन्द्र पौडेल पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले लछारपछार गर्दै गिरफ्तार गरेपछि कांग्रेसले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको थियो । पौडेल पक्राउ परेलगत्तै देशभर कार्यकर्ताले सरकारको विरोध गर्दै जुलुस निकालेका थिए । त्यसलगत्तै मंसिर १९ गते बसेको पदाधिकारी बैठकले देशव्यापी विरोधको कार्यक्रम घोषणा गरेको थियो । कोरोना महामारी शुरु हुनुअघि पार्टीको जागरण अभियानका क्रममा कांग्रेसले प्रदर्शन गरेको थियो ।

तनहुँ घटनासँगै प्रधानमन्त्री ओली र सभापति देउवाबीचको सम्बन्धमा चिसोपन आएको छ । नेकपाभित्रको आन्तरिक विवाद चर्किंदा प्रधानमन्त्री ओलीले देउवालाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर छुट्टै छलफल गर्नुभएको थियो । उक्त भेटपछि नेकपाभित्र मात्र होइन कांग्रेसभित्र समेत आशंका जन्माएको छ । राजवादीहरुले देशका मुख्य शहरमा प्रदर्शन गर्ने क्रम बढेपछि प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा समेत सभापति देउवाले कुनै कुरा राख्नुभएको थिएन । आइतबार प्रधानमन्त्री ओलीले बोलाउनुभएको संवैधानिक परिषद्को बैठकसमेत सभापति देउवाकै कारण स्थगित हुन पुगेको छ । कांग्रेसले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिँदै आएको छ । तर सरकारले तत्काल नै संसद् अधिवेशन नबोलाउने रणनीति लिएको छ ।

सोमबार कांग्रेसले गरेको शक्ति प्रदर्शनअन्तर्गत सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । त्यसै गरी नेता रामचन्द्र पौडेलले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डा. रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

नेता गगन थापाले कैलाली, केन्द्रीय सदस्य चन्द्र भण्डारीले नुवाकोट, केन्द्रीय सदस्यहरु एनपी साउदले अछाम, प्रदीप पौडेलले कञ्चनपुर, शंकर भण्डारीले सिरहा, सुरेन्द्र पाण्डेले रुपन्देही, वीरबहादुर बलायरले डोटी, कल्याण गुरुङले नवलपरासी, धनराज गुरुङले स्याङ्जाको विरोधसभालाई सम्बोधन गर्नुभएको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार असफल भइसकेको बताउनुभएको छ । उहाँले सुशासन कायम गर्न नसकेको र भ्रष्टाचारको संरक्षण गर्ने सरकारबाट जनताले अब आशा राख्नु नै बेकार भइसकेको बताउनुभएको हो ।

सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले सरकार भ्रष्टाचारमा चुर्लुम्ब डुबिसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो सरकार नालायक हो, भ्रष्टाचारी हो ।’

भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको आरोप लगाउँदै उहाँले सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो भन्ने प्रश्न गर्नुभयो ।

भ्रष्टाचार, असुरक्षा, पक्षपात बढेको तथा राज्यलाई कम्युनिस्टीकरण गर्ने दुस्साहस भइरहेको बताउँदै नेता पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सर्वसत्तावादी कम्युनिस्ट र प्रतिगामी तत्वहरु लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्