सैनामैना खुल्ला मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

भेट्रान्सको उपाधि चितवन ब्याडमिन्टलाई



यमलाल भुसाल, सैनामैना ।

प्रथम सैनामैना राष्ट्रिय खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लव काठमाण्डौँले हात पारेको छ । सैनामैना ब्याडमिन्टन क्लवको आयोजनामा भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लव काठमाण्डौलाई सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

त्रिभुवनका प्रफुल महर्जन र रुकेश महर्जनको टिमले उपाधि सँगै रु.५१ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरेको छ । नेपाल पुलिस क्लव काठमाण्डौँले भने उपविजेतामै चित्त बुझाएको छ । पुलिसका जिवन आचार्य र सुनिल जोशीको टिमले ३५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।

त्यसैगरी त्रिभुवन आर्मी क्लव काठमाण्डौँका दिवस शंकर , भोज बहादुर गुरुङ्गको टिम र बुटवल ब्याडमिन्टन क्लवका विश्वास नेपाल र गणेश रायमाझीको टिमले प्रतियोगितामा तृतिय स्थान हासिल गर्न सफल भएका छन् । उनीहरुले २०÷२० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको सैनामैना ब्याडमिन्टन क्लवका अध्यक्ष नन्द बहादुर थापाले जानकारी दिए ।

भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि चितवन ब्याडमिन्टन क्लवले जितेको छ । गुल्मीका नवराज श्रेष्ठ र कृष्ण राना सँग फाइनल प्रतिस्पर्धामा मैदानमा उत्रिएका चितवनका कमल राना र बुद्धि चौधरीको टिमले उपाधि जितेको हो । उपाधि सँगै चितवनले रु.३० हजार सँगै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको क्लवले जनाएको छ । उपविजता गुल्मीले २० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।

त्यसैगरी चन्द्रागिरी ब्याडमिन्टन क्लव काठमाण्डौँका हरि खत्री , पुरण श्रेष्ठ र बुटवल ब्याडमिन्टन क्लवका अर्जुन कार्की , गोपाल टण्डनको टिमले तृतिय स्थान हासिल गर्दै रु. १५/१५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टिमहरुलाई एक कार्यक्रमका बिच पुरस्कार समेत वितरण गरिएको ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्