भ्रष्टाचार गर्ने विश्वकै उदाहरण ओली सरकार



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाध्य भएको बताउनुभएको छ । सरकारविरुद्ध कांग्रेसले घोषणा गरेको हेटौंडा विरोधसभामा सभापति देउवाले ओली सरकारको गैरजिम्मेवारीपनका कारण राजा आऊ–देश बचाऊ भन्ने नारा लाग्ने स्थिति आएको बताउनुभयो ।

उहाँले यस्तो बाध्यात्मक अबस्थामा सरकारले पु-याएको भन्दै यस्तो बेला पनि जनतालाई सडकमा साथ लिनुपरेकोमा माफी माग्नुभयो । ‘कोरोनाको महामारीको समयमा सडकमा भेला गराएर जनतालाई संक्रमित बनाउने हाम्रो इच्छा होइन । यो बाध्यात्मक अबस्था हो,’ देउवाले भन्नुभयो–हामीले विज्ञप्ति जारी गरेर विरोध गर्दा केही गरेनन् भन्ने सडकमा निस्कँदा कांग्रेसले यस्तो ग¥यो भन्ने काम हुँदैछ ।

‘मैले उबेला नै भनेको थिएँ कम्युनिष्टले जितेमा हाँस्न पनि पाइँदैन, दिल खोलेर रुन पनि पाइँदैन,’ सभालाई सम्बोधन गर्दै देउवाले भन्न्ुभयो–आज हेर्नुस् त वास्तबमा कम्युनिष्ट सरकारले एकदलीय शासनजस्तो गरिरहेको छ । जनता भोक र रोगले मरिरहँदा ओली भाषणमा सरकारको प्रगति देखेर अरु आत्तिए भन्दै बसेका छन् । उनले कोरोना महामारीमा पनि भ्रष्टाचार गर्ने विश्वकै उदाहरण ओली सरकार भएको भन्दै ओली सरकार आएपछि भ्रष्टाचार, बलात्कार, हत्या र कुशासन चलिरहेको बताउनुभयो ।

‘ओली सरकार आएपछि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अपराध र भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने सरकारले आजसम्म अपराधी खोजेकोसमेत छैन,’ देउवाले भन्नुभयो–यो सबै ओलीकै कारण भइरहेको छ । गफ दिने तर काम नगर्ने प्रवृत्तिले देशमा समस्या आएको हो ।

‘सडकमा केही जनता निस्किएर राजा आऊ–देश बचाउन भन्दैछन्, यो भ्रममा नरहन म नेपाली जनतालाई आग्रह गर्छुु,’ देउवाले भन्नुभयो–मैले ठूलो राजनीतिक जोखिम मोलेर ज्ञानेन्द्रलाई सहयोग गरेको थिएँ, उनले मलाई नै थुनामा राखे । उनले राजाका पक्षमा नारा लगाउने वातावरण प्रधानमन्त्री केपी ओलीले नै बनाइदिएको आरोप लगाउनुभयो । उहाँले सडकमा राजाबारे प्रदर्शन हुनुमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार जिम्मेवार रहेको आरोप लगाउनुभयो ।

राजतन्त्र त राजा ज्ञानेन्द्रकै कारण गएको हो र अब फर्कने ठाउँ छैन,’ देउवाले भन्नुभयो–राजा ल्याउने भन्दै आन्दोलन ओली सरकारका कारण भइरहेको छ । सरकारप्रति निरासा बढाउने काम ओलीले गरिरहेका छन् । त्यही कारण राजावादीहरु गणतन्त्रले राम्रो गर्दैन भन्दै जनता झुक्याउन सकिन्छ कि भनेर निस्किएका छन् ।

‘कम्युनिष्ट सरकारकै कारण राजा आऊ–देश बचाऊ भनिरहेका छन् । यसमा ओली सरकार जिम्मेवार छ,’ उहाँले भन्नुभयो–कांग्रेस राजाको पक्षमा छैन । उहाँले वर्तमान संविधान र व्यबस्था नै उपयुक्त भएको बताउनुभयो । ‘संविधान कार्यान्वयन गर्ने र यही व्यबस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने हो,’ देउवाले भन्नुभयो ।

शून्य सहनशीलता भन्ने प्रधानमन्त्रीको सरकारले हत्या, हिंसा र बलात्कारका आरोपीहरु पक्राउ र कारबाही नगर्नुले ओली सरकारका कुरा गफमै सीमित भएको देउवाको भनाइ छ । सभापति देउवाले ओलीले अदालतलाई समेत प्रभावमा पारेर कम्युनिष्टकरण गर्न खोजेका कारण अदालतको निष्पक्षता कायम गर्न पनि आफूहरु आन्दोलनमा उत्रिएको स्पष्ट पार्नुभयो ।
सभापति देउवाले कांग्रेस सडक आन्दोलनमा उत्रिन बाध्य भएको भन्दै जनतालाई बोल्ने, लेख्ने, विरोध गर्ने अधिकारसमेत खोस्न कम्युनिष्ट सरकार लागेको बताउनुभयो ।

नेपाली कांग्रेसको देशव्यापी प्रदर्शनका क्रममा पार्टी मकवानपुरले सोमबार हेटौंडाको बुद्धचोकमा आयोजना गरेको सरकारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सरकारले सर्वसत्तावाद लाद्न खोजेकोले कांग्रेस सडकमा उत्रन बाध्य भएको स्पष्ट पार्नुभयो ।

‘कम्युनिष्टले जितेपछि बोल्न, हाँस्न र रुनसमेत दिइएन । कुनै समस्या परेर रोयो भने कम्युनिष्ट सरकारले जेल हाल्छ होला,’ उहाँले व्यङ्ग्य गर्नुभयो । तत्कालीन एमाले र माओबादीबीच एकतापछि आफूले कम्युनिष्टहरुले चुनाब जिते हाँस्न र रुन पाइने छैन भनेको स्मरण गर्दै उहाँले भन्नुभयो–आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन । उहाँले भन्नुभयो–भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ । उहाँले भ्रष्टाचारको मुख्य अखडा बालुवाटार रहेको बताउनुभयो ।

सभापति देउवाले देशमा वर्तमान व्यबस्थाविरुद्ध राजाबादीको प्रदर्शनमा कम्युनिष्ट सरकार मुख्य जिम्मेवारी भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्माओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो–ओली नै तत्कालीन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?

कांग्रेस प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले भने–केही अगाडि कांग्रेसको दिन गयो भन्नेहरु आफ्नो पार्टीभित्र रडाँको मच्चिएपछि कांग्रेसको ढोका ढक्ढकाउन हामी सडकमै रहन्छौं । सरकारमा जानैपर्ने हो भने आगामी निर्वाचनबाट बहुमत लिएरमात्र सरकारमा जान्छौं भन्न आज हामी सडकमा उपस्थित छांै ।्

‘लकडाउनको बेलामा सरकारी आज्ञा मानेर घरघरमा बसेर पसल बन्द गरेकै थियौं । सरकारलाई चुपचाप बसेर सहयोग गरेका थियौं । महामारी हुँदा हामीले सहयोग गर्नुपर्छ भनेर हामी त्यस बेला बस्यौं । ‘एमालेलाई मत दिनेहरु, माओबादीलाई मत दिनेहरु, तपार्इंको दाहिने हात छातीमा राखेर एकपटक अन्तरआत्मालाई सोध्नुुहोस्, जनता मर्दै गर्दा बालुवाटारमा यस्तै लडाईं होस् भनेर घाममा लामो लाइन लागेर दिनु भएको थियो मत ? योभन्दा लाजमर्दो के हुन्छ ?,’ उहाँले भन्नुभयो ।

प्रवक्ता/केन्द्र्रीय सदस्य शर्माले नेपाली कांग्रेसलाई नजिस्काउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारलाई चेतावनी दिनुभयो । सरकारविरुद्ध प्रदर्शनमा उहाँले एमाले र माओबादीबीच सत्ताको लागिमात्र एकता भएको बताउनुभयो ।
प्रवक्ता शर्माले सत्तारुढ पार्टी र उक्त पार्टीका नेताहरुभन्दा जेठो भएकाले कांग्रेसलाई कम नआँक्न चेतावनी दिनुभयो । ‘कांग्रेस बन्दुक उठाउनेमा पनि जेठो हो,’ प्रवक्ता शर्माले भन्नुभयो–कांग्रेस सीधै महाराजधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गर्ने पार्टी हो ।

प्रवक्ता शर्माले कांग्रेस, कम्युनिष्ट पार्टीले जसरी विद्यालयका शिक्षकलाई अपहरण गरेर हत्या गर्ने पार्टी नभएर आकाशमा उड्ने प्लेन अपहरण गरेको पार्टी भएकाले कम नआँक्न भन्दै चेतावनी दिनुभएको थियो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रमा जुन किसिमको व्यबहार तथा स्वभाव देखाउनुपर्ने हो, त्यो किसिमको व्यबहार सरकारबाट नपाएपछि सडकमा उत्रेर सरकारको विरोध गर्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्