वडाध्यक्षद्वारा सरकारी मोटरसाइकल फिर्ता



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का वडाध्यक्ष भागवत् घिमिरेले पालिकाले उपलब्ध गराएको सरकारी मोटरसाइकल सुबिधा फिर्ता गर्नुभएको छ । पालिका जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्दै वडा अध्यक्ष घिमिरेले उक्त सुबिधाको खर्चलाई वडाको विकास निर्माणमा खर्च गरिने बताउनुभयो ।

उहाँले पालिकाले करिब डेढ वर्षअघि दिएको मोटरसाइकल सुबिधा लिने मनसाय नबनाएको बताउनुभयो । अध्यक्ष घिमिरेले पालिकाले उपलब्ध गराएको ना। १ ब ३३०५ नम्बर पल्सर मोटरसाइकल फिर्ता गर्नुभयो । पालिकाले सबै वडाका अध्यक्षलाई काममा सहजताका लागि मोटरसाइकल उपलब्ध गराएको थियो ।

उहाँले भन्न्ुभयो–पालिकाले दिएको मोटरसाइकल सुबिधा नलिने मनसाय बनाएको थिएँ । तर, अन्य वडाका जनप्रतिनिधिको आग्रहलाई आत्मसात् गरेको थिएँ । पछिल्लो समय जनताको सेवामा लाग्न सरकारी सुबिधा आबश्यक नलागेपछि घरपरिवारको सल्लाहमा सरकारी मोटरसाइकल सुबिधा फिर्ता गरेको हुँ,’ उहाँले भन्नुभयो ।

उहाँले अन्य वडाका अध्यक्षहरुले पनि मोटरसाइकल सुबिधा फिर्ता गर्ने मनसाय बनाएको बताउनुभयो । उहाँको ‘सरकारी सुबिधा प्रयोग नगरी आफ्नै खर्चमा मोटरसाइकल चढ्छु’ भन्ने भनाइले उदाहरणीय जनप्रतिनिधिका रुपमा उहाँलाई परिचित गराएको छ । पाएसम्म सरकारी सेवासुबिधा लिने समाजमा उदाहरणीय व्यक्तिमध्ये घिमिरे पनि एक बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्