पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ अभियान शुरु



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको महाशिला गाउँपालिकामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । विदेशमा रहेका युवायुवतीलाई गाउँपालिकामा फर्काई स्वदेशमै केही गरी उत्पादन र आयआर्जनसँग जोडी उद्यमी बनाउन यो कार्यक्रम शुरु गरिएको हो ।
रोजगारीको खोजीमा बर्सेर्नी गाउँपालिकाबाट युवाहरुको पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो ।

गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँ फर्क प्याराप्यारी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तो कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले पछिल्लो तीन वर्षभित्र विदेशमा बसिआएको प्रमाण खुल्ने कागजातको प्रतिलिपि, आफूले गर्न चाहेको व्यवसायको प्रस्तावना, ऋण लिने वित्तीय संस्थाको सहमतिपत्र गाउँपालिकामा पेश गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी गाई, भैँसी न्यूनतम तीन वा सोभन्दा माथि, कुखुरा ५०० वा सोभन्दा माथि, बङ्गुर ३० वा सोभन्दा माथि, फलफूल तथा तरकारी खेती तीन रोपनी क्षेत्रफल वा माथि हुनुपर्ने छ ।पालिकाले अधिकतम ३ लाखको १२ प्रतिशतको दरले अधिकतम दुई वर्षको अवधिका लागि ब्याज रकम अनुदान भुक्तानी दिने भएको छ ।

गाउँपालिकाले बनाएको कार्यविधिअनुसार कम्तीमा तीन वर्षभित्र विदेशबाट फर्केर आएका युवायुवती समावेश हुनसक्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसले बढ्दो पलायन र बेरोगार युवायुवती दुवैको दर कम गर्ने र गाउँपालिकामा रहेको गरिबीको दर घट्दै जाने बिश्वास पालिकाको छ ।

उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको गाउँपालिकाका प्रवक्ता जीवन उच्चैले जानकारी दिनुभयो । यस वर्ष ३० देखि ५० युवायुवतीलाई यो कार्यक्रममा समावेश गर्ने गरी आवेदन माग गरिएको समेत उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्