बोस्निया विभाजनको प्रतीक मोस्टारमा १२ वर्षपछि चुनाव



मोस्टार, बोस्निया हर्जगोभिना ।

मोस्टार, बोस्निया हर्जगोभिना, २९ मंसिर ९रासस–एएफपी० – नीना पोपोभिक एक दशकपछि पहिलो पटक मतदान गर्न योग्य हुनु भएको छ तर उहाँ आफ्नो बोस्नियाली गृह नगर मोस्टारमा कुनै नेतृत्वका लागि प्रतिस्पर्धामा हुनुहुन्न । यो शहरमा १२ वर्षपछि पहिलो पटक आइतबार स्थानीय तहका लागि चुनाव हुँदैछ । बोस्निया युद्ध समाप्त गर्ने डेटन शान्ति सम्झौतामा हस्ताक्षर भएको पच्चीस वर्षपछि पनि मोस्टार शहर साम्प्रदायिक विभाजन र राजनीतिक अस्थिरताको प्रतीक बनिरह्यो । बाल्कन राज्य बोस्निया हर्जगोभिनालाई यस शहरभित्रको अस्थिरताले सताइरहेको थियो ।

यस शहरमा मुख्यरुपमा क्याथोलिक सम्प्रदायका क्रोएसियाली र मुस्लिम बोस्नियाकहरुको बसोबास छ । शहरमा व्याप्त कानुनी असमझदारी हटाउन कुनै ठोस पहल गर्न नसकेका राष्ट्रवादी दलहरुले नै मुख्य रुपमा जनताको प्रतिनिधित्व गरिरहेका छन् । यही कारण मोस्टारमा चुनाव गराउने प्रयत्न असफल हुँदै आएका थिए । करिब एक लाख जनसंख्या रहेको यस शहरमा दलीय असमझदारीकै कारण सन् २०१२ देखि स्थानीय परिषदको चुनाव हुन पाएको थिएन ।

नाट्यकर्मी पोपोभिकले भन्नुभयो, “ढिलाई एउटा दुःखद सत्य हो र यो गर्व गर्नलायक कुरै होइन, तर मलाई ढिलै भएपनि अब राम्रो होला भन्ने झिनो आशा छ ।” मतदान गर्न पाउने अवसर जुरेका कारण आफूलाई निकै खुशी लागेको एएफपीलाई बताउनुभयो । डिसेम्बर १० तारिखका दिन मतदान गर्न पाउने अवसर भने राजनीतिशास्त्री इर्मा बारालिजाका कारण सम्भव भएको हो । उहाँले मतदान गर्न पाउने आफ्नो अधिकारका लागि अदालतमा निरन्तर मुद्दा लड्नु भएको थियो ।

३६ वर्षीया इर्माले मोस्टारका जनताको मताधिकार हनन भएको भन्दै युरोपेली मानवअधिकार अदालतमा मुद्दा दर्ता गर्नु भएको थियो । अदालतले सन् २०१९ को अक्टोबरमा इर्मा “विभेद”को शिकार भएको जनाउँदै बोस्नियाली सरकारलाई मोस्टारमा नगर निर्वाचन गराउन आदेश दिएको थियो । निकै प्रसन्न मोस्टारमा मुद्रामा भेटिनुभएकी बारालिजाले एएफपीसँग भन्नुभयो, “यो फैसलाले हरेक व्यक्ति महत्वपूर्ण हुन्छन् र परिवर्तन ल्याउन सक्छन् भनेर देखायो । अब हरेक व्यक्तिले डिसेम्बर २० मा आफूले चाहेका व्यक्तिलाई छनौट गर्न पाउने छन् ।”

अदालतको जितबाट उत्साहित हुनुभएकी बारालिजाले नासा स्ट्रान्का ९आवर पार्टी० को नेतृत्व गर्नु भएको छ । यो देशकै बहु–जातीय पार्टी हो अर्थात् यस पार्टीभित्र विभिन्न जातका व्यक्तिको सहभागिता छ । सन् १९९० को दशकको युद्ध लडेका बोस्नियाली, क्रोएसियाली र सर्बियाली समुदायका व्यक्तिहरु बारालिजाको पार्टीमा आबद्ध छन् । बोस्नियाली मुलकी बारालिजा आजभोलि शहरका सबै भागमा चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । सन् १९९२–१९९५ को अवधिमा भएको द्वन्द्व हुनुअघिकै शान्तिपूर्ण मोस्टार पुनर्जीवित तुल्याउने सपना बारालिजाको छ ।

निलो नेरेट्भा नदीमाथि बनेको ओट्टोमन शैलीको भव्य पुल समेत रहेको बहुजातीय मानिसको बसोबास रहेको मोस्टार आफैंमा पूर्व युगोस्लाभियाका भव्य शहरमध्ये एक थियो । आज यी सबै सम्पदाहरु दुई समुदायबीचको सम्पर्कलाई भत्काउन प्रयोग गरिएका छन् । यहाँ स्थानीय समुदायका लागि छुट्टाछुट्टै हुलाक कार्यालयहरु, बिजुली र पानी आपूर्तिकर्ता, टेलिकम कम्पनी, अस्पताल, राष्ट्रिय थिएटरहरु, विद्यालय, फुटबल क्लब लगायत छन् । यस्तो प्रणालीले मुख्य राष्ट्रवादी पार्टीहरु – क्रोएसियाली समुदायको नेतृत्वमा रहेका एचडीजेड र बोस्नियाली एसडिए – लाई नै अधिक फाइदा पुगेको छ, ५० वर्षीया व्यवसायी एवं अर्को सानो दल प्लेटफर्म फर प्रोग्रेसबाट चुनावमा उठ्नु भएकी अम्ना पोपोभाक बताउनुहुन्छ ।

“वास्तवमै एकीकृत शहर उनीहरुका लागि ठूलो खतरा हो,” उहाँले बताउनुभयो । उहाँको भनाईमा मोस्टारका धेरै मानिसमा भित्रैदेखि एक किसिमले डरको शासन छ । बोस्नियाली भएपनि पोपोभाक आफैं भने क्रोएसियाली बस्तीतिर बस्नुहुन्छ । युद्धका दिनहरुमा छिमेकीले कसरी आफ्नो परिवारलाई जोगाए भन्ने उहाँको मानसपटलमा अद्यापी ताजै छ । उहाँ भन्नुहुन्छ, “ध्वस्त भवनहरुलाई त्यतिकै छाडिएको छ जसले विगतको विद्रुप अवस्थालाई अझै पनि सम्झाइरहेको छ ।” मर्मत समेत नगरी राखिएका युद्धकालमा ध्वस्त बनाइएका धेरै भवनहरुले जातीय द्वन्द्वको घाउलाई सम्झाउने गरेको पोपोभाकको भनाई छ ।

यस वर्ष दुई मुख्य दलहरु – एचडिजेड र एसडिए – ले नयाँ उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेका छन् जसले शहरभित्र बढी एकताका लागि आह्वान गरिरहेका छन् । तर उनीहरुका आलोचकहरुले शंका व्यक्त गरिरहेका छन् ।
मोस्टारमा कार्यरत गैरसरकारी संस्थाकी प्रमुख मारिन बागो दलहरुमा आएको परिवर्तन सुखद पक्ष रहेको बताउनु हुन्छ । “दलहरुले अब आम शहरबासीले सामान्य जीवन चाहेको कुरा बुझ्न थालेका छन् । तर तिनीहरुमध्ये केही अर्को समुदायका कुरा सुन्न गएजस्तो लाग्दैन । यो भने खराब पक्ष हो ।”

दक्षिणपन्थी क्रोएसियाली रिपब्लीकन पार्टीका प्रमुख ४१ वर्षीय स्लाभेन रागुज पनि वर्षौंदेखि राष्ट्रवादीहरुका आलोचक हुनुहुन्छ । “मोस्टार पूरै बोस्नियाको जस्तै विभाजित छ ।” बोस्निया पनि विभिन्न जातीय क्षेत्रहरुमा विभाजित छ र यहाँको राजनीति भ्रष्टाचार र अव्यवस्थाबाट ग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्