लालपैनी खोलामा पक्की पुलको शिलान्यास, स्थानीय हर्षित



न्युज अफ नेपाल, भद्रपुर ।

झापाको कमल गाउँपालिका २ लालपैनी खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास भएपछि यहाँका स्थानीयहरू हर्षित बनेका छन् । पुलको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दुइ दिन अघि शिलान्यास गरेपछि स्थानीयमा आस पलाएको हो ।

शिलान्यास कार्यक्रममा मन्त्री कार्कीले बजेट अभावका कारण पुल निर्माणको काम रोकिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गौरादह नगरपालिका वडा नम्बर १ र कमल गाउँपालिका वडा नम्बर २ लाई जोड्ने लालपैनी खोलामा पुल नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको खेमराज रिजालले बताउँनुभयो । लालपैनी खोलामा पुल बन्छ भन्ने सुनेको बर्षौ भयो, त्यही पुलको आशामा धेरैले निर्वाचनमा भोट माग्न पुगेको उहाँको भनाइ छ । नेताहरूलाई भोट दिएर चुनाव जिताएर पठाए, तर पुल बनेन रिमालले भन्नुभयो । पुल नहुँदा स्थानीय जोगीचौनका बासिन्दा बिरामी परे अस्पताल पु¥याउन पनि समस्या भएको उहाँको भनाइ छ । केहीको त यही खोलामा डुबेर ज्यानै समेत गएको उहाँको भनाइ छ । हिउँदमा बाँसको अस्थायी पुल निर्माण गरेपनि बर्खामा समस्या भएको उहाँले जनाउँनुभयो ।

तोपगाछी धरमपुर मैत्री समाज काठमाण्डौका अध्यक्ष यज्ञराज न्यौपानेले यहाँबाट सिपी मैनालीलाई जितायौँ, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि धेरै पटक जिताएर पठायौँ, तर मुलुकमा अस्थायी सरकार भएका कारण विगतमा केही हुन नसकेको बताउँनुहुन्छ ।

बाल्यकालमै यो खोलामा पुल बन्छ भन्ने सुनेकाहरू अहिले वयस्क भईसके तर कतैबाट पुल निर्माणका लागि तातो नलागेको उहाँको भनाइ छ । बल्ल अब भने यो स्थानमा पक्की पुल बन्ने भएपछि यहाँका स्थानीयको खुसीको सिमानै छैन उहाँले भन्नुभयो । विकासका लागि त स्थिर सरकार चाहिँदो रहेछ स्थानीय मञ्जु बस्नेतले भन्नुभयो । पुल नहुँदा धेरै दुख पाएको उहाँको भनाइ छ ।

रौताहा–आशिशदिप–राज जे.भी. भद्रपुरले भ्याट सहित ५ करोड १४ लाख ७९ हजार ४ सय रुपैयाँमा लालपैनी खोलामा पुल निर्माणको जिम्मा पाएको छ ।

२०७७ साउन ६ गते सम्झौता भएको र २०७९ असार २० गते काम सम्पन्न गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख गरिएको पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर रमेश कुमार माझीले जानकारी दिनुभयो । पुलको लम्बाई ४० ददशमलब ८७ मिटरको हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्