तिलोत्तमा भलिबल सुरु



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबारदेखि प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरू भएको छ ।

नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको खेल मंसिर ३० गतेसम्म चल्नेछ । वडा नम्बर ८ ले संयोजन गरेको प्रतियोगिता लांघाली युवा परिवार र ज्योति जागृति आमा समूहको चार नम्बरमा सञ्चालन भएको भएको हो । प्रतियोगितामा विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिएका हुन् ।

यसैगरी, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार तथा २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा ‘बेस्ट प्लेयर’, ‘बेस्ट सेटर’, ‘बेस्ट ब्लकर’, ‘बेस्ट स्पाइकर’, ‘बेस्ट सर्भर’ तथा अनुशासित खेलाडीलाई सम्मान गरिने संयोजक गुरुङले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले अब्बल खेलाडीको पहिचान र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरेका थिए । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनोट गरिने संयोजक गुरुङले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्