छनोटबाट डोटी बाहिरियो



विनोद सिंह विष्ट, बैतडी ।

कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट डोटी बाहिरिएको छ ।

डोटी लगातार २ खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । आइतबार भएको खेलमा डडेल्धुरासँग ५ विकेटले पराजित भएको डोटी पहिलो खेलमा अछामसँग ६१ रनले हारेको थियो । डोटीले दिएको १ सय ३० रनको लक्ष्य डडेल्धुराले ५ विकेटको क्षतिमा पूरा गरेको थियो । विजेता टिमका लागि सन्तोष भट्टले नटआउट रहँदै ५६ रन जोडे । डोटीका सविन महराले ३ विकेट हात पारे पनि हार भने टार्न सकेनन् ।

यसअघि, खुलामञ्च मैदानमा पहिला ब्याटिङ गरेको डोटीले रिदम बलायरको सर्वाधिक ३० रनको मद्दतमा १ सय २९ रन बनायो । डडेल्धुराका लागि सन्तोष भट्टले ३ विकेट लिए । उनी ‘म्यान अफ द म्याच’ पनि चुनिए ।

यस्तै, अर्को खेलमा अछामलाई १ विकेटले हराउँदै कञ्चनपुरले पहिलो जित दर्ता गरेको छ । अछामले दिएको १ सय ७१ रनको लक्ष्य कञ्चनपुरले ९ विकेटको क्षतिमा भेट्टायो । विजेता टिमका लागि किरण ठगुन्नाले ५६ रनको महत्वपूर्ण पारी खेले । अछामका लालु सानी र विक्रम थापाले समान २/२ विकेट हासिल गरेका थिए । त्यसअघि, कभर्डहल मैदानमा पहिला ब्याटिङमा उत्रेको अछामले अलआउट हुँदै १ सय ७० रन बनायो । जसमा दीपक टमाटाले ५४ रन जोडेका थिए । कञ्चनपुरका विकास आग्री र आशिष भट्टले ३/३ विकेट लिए । कञ्चनपुरका किरण ठगुन्ना ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत सोमबार पनि दुई खेल हुनेछन् । कभर्डहल मैदानमा कञ्चनपुर र डोटी खेल्दा खुलामञ्च मैदानमा डडेल्धुरा र अछाम प्रतिस्पर्धा गर्नेछन् । मंसिर २७ देखि शुरू भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनोट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्