बायर्न बर्लिनसँग बराबरीमा रोकियो



म्युनिख, (एजेन्सी) ।

बुन्डेसलिगाको अंकतालिकामा शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले युनियन बर्लिनविरुद्धको खेल बराबरीमा चित्त बुझाएको छ ।

शनिबार राति भएको खेलमा बर्लिनका लागि ग्रिस्चा प्रोमेलले चौथो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । बायर्नले सो गोलको जवाफ फर्काउन निकै समय लिएको थियो । ६७औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले किंग्सली कोमानको पासमा गोल गर्दै बायर्नलाई बराबरीमा ल्याएका थिए । यो लेवान्डोस्कीको यस सिजनको व्यक्तिगत १३औं गोल थियो ।

यसपछि दुवै टिमले गोल गर्न नसकेपछि एक–एक अंक बाँडे । यो नतिजापछि दोस्रो स्थानको आरबी लिपजिग र बायर्नको समान २४ अंक भएको छ । बायर्न गोलभिन्नताको आधारमा शीर्ष स्थानमा छ । यसअघिको खेलमा लिपजिगले वेर्डर ब्रेमेनलाई २–० ले हराएको थियो ।

अर्को खेलमा भने बोरुसिया डर्टमन्डले लज्जास्पद पराजय बेहोरेको छ । यस सिजनमा बढुवा भएको टिम स्टुटगार्टसँग डर्टमन्ड ५–१ गोलअन्तरले हारेको थियो । सिलास वामानगिटुकाले स्टुटवार्टलाई २६औं मिनेटमा पेनाल्टी गोलसँगै अग्रता दिलाएका थिए । एमे्र क्यानले माटिओ क्लिमोचविजलाई लडाएपछि स्टुटवार्टले पेनाल्टी हान्ने मौका पाएको थियो, जसलाई वामानगिटुकाले सदुपयोग गरे ।

गियोभानी रिएनाले ३९औं मिनेटमा गोल फर्काएर पहिलो हाफमा १–१ मा डर्टमन्डलाई राखेका थिए । तर, दोस्रो हाफमा भने डर्टमन्डको लय बिग्रियो र स्टुटगार्टले ४ गोल थपेर सानदार जित निकाल्यो । स्टुटआर्टका लागि वामानगिटुकाले ५२औं मिनेटमा गोल गरेर २–१ को अग्रता दिलाए । यसपछि फस्र्टरले ६०औं मिनेटमा, काउलीबालीले ६३औं मिनेटमा र निकोलास गोन्जालेजले इन्जुरी समयमा गोल थपेका थिए ।

प्रतिक्रिया दिनुहोस्