सुरक्षा चुनौतीमा सम्झौता नहुने



नेपाल समाचारपत्र, रौतहट ।

गृह सचिव महेश्वर न्यौपानेले प्रदेश नम्बर २ मा रहेको सुरक्षा चुनौती, तस्करी, लागूऔषध र अपराधका घटनामा कसैसँग सम्झौता नहुने बताउनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय रौतहटको भवन उद्घाटन गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो ।

उहाँले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा तीन महिनाअघि यातनाबाट मृत्यु भएका विजय रामको सन्दर्भलाई समेत जोडेर कर्तव्य पालनबाट च्यूत भएका प्रहरी अधिकारीलाई कारबाही गरिएको उदाहरणसमेत दिनुभएको थियो । सरकारी सेवा प्रदायक कार्यालयमा अनियमितता र काममा ढिलासुस्ती भएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने समेत बताउनुभयो । उहाँले समयै विकास निर्माणको कार्य सम्पन्न गर्न प्रशासक र सुरक्षाकर्मीले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र समयमै विकास निर्माण कार्य सक्ने वातावरणमा आफू सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रौतहटको भवन १ कराड ७५ लाख ६८ हजार ४ सयमा निर्माण सम्पन्न भएको हो ।

त्यसै गरी, भवन उद्घाटपश्चात् नेपाल समाचारपत्र रौतहटका संवाददाता सञ्जय कार्कीसहित १८ जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याएको, कोभिड–१९ को संक्रमण फैलन नदिन जनचेतना जगाउन र भूमाफियाले स्रेस्ता कायम गरेको नेपाल सरकारको १ सय २२ बिघाहा जमिन फिर्ता ल्याउन योगदान पु¥याएको भन्दै सञ्चारकर्मीहरूलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्